काठमाडौं : कोराना भाइरसको संक्रमणको जालो बढ्दै गएको छ। वैश्विक महामारीका कारण मानिसहरुलाई आवश्यक कामबिना घरबाहिर ननिस्कन आग्रह गरिएको छ। निस्किए पनि आफै सतर्क हुनु उनीहरुलाई चुनौती छ अहिलेको अवस्थामा। लकडाउन अन्त्य भएपनि संक्रमणको कहर भने बढ्दै जाँदा थप सतर्क हुनुपर्ने आवश्यकता छ।
काठमाडौं उपत्यका कोरोना संक्रमणको नयाँ हटस्पट बन्दै गर्दा काठमाडौंकै शंकरापुर नगरपालिकाका केही वडाहरुमा माहोल फरक छ।
चाबाहिलस्थित एक स्कुलमा अध्यापन गराउँदै आएका शंकरापुर वडा १ का आत्माराम अधिकारी विद्यालय बन्द भएपछि गाउँमा छन्। गाउँमा उनको रातको 'दैनिकी' फेरिएको छ।
रातको दैनिकी? हो राति सबै सुत्नेबेला भएपछि उनी लगायत गाउँलेहरु भने बाहिर निस्कन्छन्। कोही बाजा बजाउँछन् त कोही शंख। उनीहरुलाई यसरी बाहिर निस्कन कोरोनाले नि रोक्न सकेन। रातिराति यसरी निस्कनु उनीहरुको रहर होइन, बाध्यता हो।
कारण- बँदेलको कहर। बालीनाली सखाप पार्ने भएकोले राति उनीहरु सबै मिलेर बँदेल धपाउन निस्कने गर्छन्।
'बालीनाली जोगाउनै पर्यो। यस्तै छ है हाम्रो चाहीँ आजकल।' अधिकारीले सुनाए।
साँखुतिर बँदेलको समस्या नभए पनि शंकरापुरको वडा नम्बर १,२ र ३ मा भने बँदेलले धेरै दुख दिने गरेको स्थानीयहरु बताउँछन्। त्यसमा पनि वडा १ मा बालीनाली जोगाउनै हम्मेहम्मे छ।
'नगरपालिकाले पनि खासै केही गरेको छैन। वडाले बँदेल धपाउन भन्दै पड्काउने साधनहरु २०/३० वटा दिएको छ। मान्छे चाहीँ आँफै जाने धपाउने रातभरी बस्ने निन्द्र बिगार्ने उही त हो नि,' अधिकारीले भने।
+++
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज यस क्षेत्रमा जोडिएको छ। नजिकै सल्ले वन रहेकाले पनि बँदेल सजिलै आइपुग्छन्। बँदेलको आहारा सिजन अनुसार फेरिन्छ। कहिले मकै त कहिले धान । खेलमा सिजन अनुसार लगाउने बाली केही बाँकी राख्दैन बँदेलले।
बँदेलको आतंक सुरु भएको धेरै भएको छैन। २०७२ सालमा गएको भूकम्पदेखि यहाँ बँदेल झर्न थालेको बताउँछन् अधिकारी। भूकम्पपछि राष्ट्रिय निकुञ्जको माथिल्लो क्षेत्रमा पहिरो जाने क्रम बढ्यो। त्यसपछि त्यहाँ मानिसहरुले खेती गर्न छाडे। त्यसपछि शिवपुरीबाट भोटेचौर हुँदै बँदेल तल झरेको र त्यहाँ बसोबास गर्दै आइरहेकाहरुको ‘टाउको दुखाइ’ को विषय बनेको स्थानीय बताउँछन्।
शंकरापुर १ का वडाध्यक्ष श्याममणि ढुंगाना पछिल्लो समय बँदेलको कारण बालीनालीमा ठूलो क्षति हुने गरेको स्वीकार्छन्।
'लगभग २ वर्षै भइसक्यो। बालीनाली सबै नष्ट गरेको। आजकल राति धेरै दु:ख दिन थालेको छ।,' वडाध्यक्ष ढुंगानाले पहिलोपोस्टसँग भने, 'शंकरापुरको ४ वडा बँदेलको धेरै आतंक छ। जंगल बढ्यो। त्यहीँबाट आउँछ। रातिराति मानिसहरु गएर कुर्छन्। १२ बजेसम्म त बस्छन। तर पनि बिहान पख आएर खाइदिहाल्छ।'
नगरपालिकाले बँदेल धपाउन भन्दै 'पडकाउने साधन' वितरण गरेको छ। स्थानीयले त्यसको प्रयोग पनि गरिरहेका छन्। यद्यपि त्यसले बँदेललाई खासै असर भने गरेको छैन। त्यो साधन बँदेल धपाउन भन्दा बाँदर धपाउन काम लागेको ढुंगानाको अनुभव छ।
'हाम्रो साइडमा शिवपुरी जलाधार पर्छ। हाम्रो शंका चाहीँ त्यहीँबाट आएको भन्ने हो। १०/१२ वटाको झुन्डमा हिड्ने रहेछ। मान्छे देखेपछि चाहीँ भाग्ने रहेछ,' उनी भन्छन्,' अब त्यसलाई केही चलाउन प्रतिबन्ध भनेको छ। त्यही धपाउने बाहेक हामीसँग विकल्प छैन। गाउँलेले रातभर शंख फुक्ने, थाल ठट्टाउने त गरेकै छन्। तर पनि बालीनाली खान छोड्ने रहेनछ।'
पछिल्लो समय शंकरापुरमा बँदेलमात्र नभइ बाघ र बाँदरले समेत आतंक मच्चाउने गरेको स्थानीयहरु बताउँछन्।
यो शंकरापुरका कृषकहरुले भोगेको समस्या प्रतिनिधि घटनामात्रै हो। देशका विभिन्न स्थानमा कृषकहरुले कतै हात्तीका कारण बालीनालीमा नोक्सान ब्यहोरेका छन् भने कतै बाँदरका कारण।
हुन त यो समस्या सामान्य देखिन्छ। तर यो विषयले सदनभित्र सम्म प्रवेश पाइसकेको छ। देशमा एकतर्फ वन्यजन्तुको तस्करी गर्ने गिरोहको सक्रियता छ भने अर्कोतर्फ वन्यजन्तुको कारण निकुञ्ज, आरक्ष र वनजंगलको नजिक रहेका कृषकहरु जोखिममा छन्।
अघिल्लो वर्षको साउनमा राष्ट्रिय सभामा विशेष समयमा बोल्दै हाल 'प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका' सभापतिसमेत रहेका रामनारायण विडारीले मान्छे र वन्यजन्तु दुवैको संरक्षण गर्नुपर्ने दायित्व सरकारको भए पनि सरकारले वन्यजन्तुको मात्रै संरक्षण गर्ने गरेको आरोप लगाएका थिए।
'मान्छेलाई शिकार गराएर वन्यजन्तु पाल्ने नीति लिने ठीक हो? कि मान्छेको पनि संरक्षण गर्नुपर्ने हो? मान्छेले वन्यजन्तु मारेमा २० वर्ष कैद गर्ने अनि वन्यजन्तुका कारण मानिसको मृत्यु हुदाँ के गर्ने?' उनले प्रश्न उठाएका थिए, 'रुखका लागि मान्छे कि मान्छेका लागि रुख? मान्छेका लागि वन्यजन्तु कि वन्यजन्तुका लागि मान्छे? मान्छेलाई वन्यजन्तुको आहारा बनाउने हो?'
यद्यपि वन्यजन्तुको तस्करीलाई पनि अवमुल्यन भने गर्न सकिने अवस्था भने छैन।
कसरी आउन थाले शंकरापुरमा २ वर्षयता बँदेल?
शिवपुरीको नागर्जुन वन्यजन्तु आरक्षको सन्दर्भ अरुतिरको भन्दा फरक भएको बताउँछन वन्यजन्तुविद् रिटायर्ड प्रोफेसर करण बहादुर शाह।
'यसका लागि शिवपुरीबारे राम्ररी बुझ्नुपर्ने हुन्छ। हामीले काठमाडौंबाट देख्ने भनेको दु:खले २० प्रतिशत भाग मात्र हो। यो त धेरै ठूलो छ।' उनी भन्छन्, 'शुरुमा त्यहाँ पर्खाल लगाइएको थियो। भित्रचाहीँ विभिन्न जीवजन्तु बाहिरबाट पनि ल्याइएका थिए। जंगल भएपछि त्यहीँ पनि विस्तारै विस्तारै बढ्ने भइहाल्यो। तर पछि पर्खाल भत्किन थाल्यो। र, भित्रका वन्यजन्तुहरु बाहिर निस्कन थाले।'
७२ सालमा भूकम्प गएपछि त्यहाँको पर्खालहरु भत्कँदा शंकरापुरमा बँदेल पस्न थालेको शाहको ठहर छ। 'यदी पर्खाल अझै थियो भने बाँदर जस्ता जनवारको कुरा त अर्कै भइहाल्यो बँदेल चाहीँ कुनै हालतमा भित्रबाट बाहिर आउन सक्दैन थियो। पर्खाल भत्किएपछि त बाहिर आउनु स्वभाविकै हो।' उनी भन्छन्।
त्यसबाहेक पछिल्लो समय बनाइएको नियम ‘कडा’ भएकाले पनि समस्या आएको हुनसक्ने उनको विश्लेषण छ।
'अर्को कुरा भनेको २ वर्षयता नियमकानुनहरु अझ कडा भएका छन्। ५/१० वर्षअघिको सन्दर्भ भएको भए मान्छेले बँदेल आउँदा मारेर या केही गरेर बाहिर आउन गाह्रो थियो। तर अहिले सन्दर्भ फेरियो,' उनी भन्छन्, ' कानुन पनि कडा भयो। कति संरक्षण गर्नुपर्छ भन्ने चेतना पनि आयो। त्यसले पनि त्यहाँ केहि बदमासी भयो भने कुरा बाहिर सहजै आउने अवस्था छ। रिसिइबी पोख्ने पनि सहज हुने भयो।१० वर्ष अगाडी यसरी बँदेल आउन थालेको थियो भने सायद फर्किएर भित्र पनि जाँदैन थियो होला।'
यसको पछाडी उनी पहिलो कारण पर्खाल भत्किनु र दोस्रो कारण निकुञ्ज भित्र बढेको जनावरको संख्यालाई देख्छन्।
कसरी हुन सक्छ 'विन विन'?
देशभर वन्जजन्तु र मानिसबीचको यो द्वन्द त चलिनै रहेको छ। प्राध्यापक शाह यसमा जनवारलाई मात्र दोष दिने अवस्था नहुने दाबी गर्छन्।
'यसमा दुवै पक्षको दोष छ। मान्छेको पनि र जनवारको पनि। कतिपय ठाउँ बाउबाजेको पालादेखि बसिरहेको पनि हुन्छन् तर कतिपय ठाउँमा चाहिँ मिलाएर बस्ने। वन अतिक्रमण गर्ने पनि भइरहेको हुन्छ,' उनी भन्छन्, 'जंगलको छेउमा बालीनाली लगाउँदा जंगलमा भन्दा खान सजिलो र मीठो पनि भएकाले आएर खान्छन्। यो भनेको स्वभाव हो। खान नपाएर भन्ने चाहीँ होइन।'
वन नजिकका अधिकांश बस्तीहरुमा जनवारले बालीनाली खाइदिने गरेको कथा लगभग सबै क्षेत्रमा सुन्ने गरिन्छ। यद्यपि वनकै छेउमा भएका कतिपय ठाउँमा कम क्षति भए पनि मानिसहरुले बढाइचढाइ भन्ने गरेको पनि बुझेका छन् शाहले।
'कतिपय ठाउँमा चाहीँ वनकै छेउमा भएर पनि अति सामान्यमात्र क्षति भएको पनि देखिन्छ। कुनै ठाउँमा एकदम बढी हुन्छ। विशेष गरी हिमाली क्षेत्रमा। अनि कतिपय क्षेत्रमा चाहीँ मानिसहरुले थपथाप गरेर कुरा पनि गरिरहेका हुन्छ,' उनी भन्छन्, 'जस्तै कुनै गाउँमा ३०० घरहरु छन् र वर्षमा २० जनाको बाख्रा चितुवाले मारिदिएको छ भने सयवटा मार्यो भन्दै भनिरहेका पनि हुन्छन्।'
वन्यजन्तुलाई तर्साएर धपाउने या क्षतिपुर्ति दिने तत्कालीन उपाय भए पनि दीर्घकालीन उपायबारे सोच्नु पर्ने उनी सुझाउँछन्।
'तत्ककाल गर्न सक्ने भनेको जति क्षति हुन्छ त्यसको क्षतिपुर्ति दिने हो। हाल गर्न सक्ने भनेको बँदेल धपाउने नै हो,' उनी भन्छन्, 'दीर्घकालीन उपायहरु पनि अपनाउन सकिन्छ। तर यसमा सबैको ध्यान जानुपर्छ। वन्यजन्तुबाट हुने नोक्सानी घटाउने विभिन्न उपायहरु अबलम्बन गर्नुपर्छ।'
दुम्सीले आलुमा पार्ने क्षतीबारे आफ्नो अनुभव सुनाउँदै उनी समयअनुसार विभिन्न विधि प्रयोग गरेर वन्यजन्तुबाट हुने नोक्सानीलाई घटाउन सकिने तर्क गर्छन्।
'पहाड तिर आलुबारीमा सबैभन्दा बढी नोक्सान गर्ने भनेको दुम्सीले हो। डोटी,डडेलधुरा खप्तड तिर हेर्ने हो भने मान्छेहरुले काठको फ्लेकहरु बनाएर लेकमा त झन बार लगाउने गरिरहेका हुन्छन्। त्यति गरेपछि डाइरेक्ट त जान पाएन तर त्यही फ्लेक लगाएको ठाउँबाट जमीन खनेर दुलो बनाएर भित्र छिर्दो रहेछ,' शाहले अनुभव सुनाए, 'त्यसको उपाय के हुन सक्ने रहेछ भने बारीको वरिपरी टनेल एउटा नालीजस्तो बनाउने। अलि गहिरो किसिमको। त्यसले दुम्सीहरु त्यसलाई काटेर भित्र पुग्न सक्दैन।'
त्यसबाहेक ‘जैविक बार’ (जनवारलाई अनुपयुक्त हुनेखालको वातावरण) बनाउँदा पनि वन्यजन्तुबाट हुने नोक्सानीलाई घटाउन महत्वपूर्ण हुनसक्ने उनको दाबी छ।
'त्यसबाहेक जैविकबार पनि हुन सक्छ। यो भनेको जीवजन्तुले नखाने किसिमको बनस्पतीहरु लगाउन सकिन्छ। त्यसले वन्यजन्तुलाई छेक्ने काम गर्छ,' उपायबारे उनले थपे, 'जंगलबाट जन्तु आएर बालीमा नोक्सान गर्छ भने जंगलबाट आउने ठाउँमा १०० मिटरसम्म मकै, आलु केही नलगाइकन हेट प्लान्टहरु लगाउन सकिन्छ जसलाई बेचेर पैसा पनि आओस जंगली जनवारले त्यो नखाओस।’
उनका अनुसार यसरी रोपिएका बालीहरुलाई जडीबुटीका रुपमा समेत प्रयोग गर्न सकिन्छ। उदाहरणका लागि मेन्था, अदुवा लगाउँदा जंगली जनावार आउएर हेर्ने र आफूलाई मन नपर्ने कुरा छ भने फर्किएर जाने उनी गर्छन्। आफूलाई मनपर्ने कुरा खोज्दै बस्ती भित्र जनावर पस्नु एकदम दुर्लभ भएको उनी बताउँछन्।
त्यसैले जनावरहरुलाई रोक्न नाली बनाउने विधि धेरै प्रभावकारी हुने भन्दै उनी भन्छन् 'इलेक्ट्रिक तार लगाएर पनि हात्ती, गैडा, बाँदर, बँदेल धपाउनका लागि पनि उपयुक्त देखिन्छ।'