बिहीवार अप्रत्यासित रुपमा भारतमा कोभिड १९ को संक्रमण र मृत्युको रेकर्ड कायम भएको छ। एकै दिन ६६ हजार भन्दा धेरै संक्रमित पहिचान भएको छ भने १ हजार भन्दा धेरै कोरोना भाइरस संक्रमितले ज्यान गुमाएका छन्।
अगस्ट ८ मा सर्वाधिक संक्रमित संख्या भेटिएको थियो। त्यस दिन ६५ हजार ४ सय १० संक्रमित पहिचान भएका थिए। हिजो भने त्यो संख्या थप माथि पुग्यो। हिजो ६६ हजार ३७ जना कोरोनाका विरामी थपिएको टाइम्स अफ इन्डियाले जनाएको छ। यससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्याले २४ लाखको सीमा पार गरेको छ।
हिजो भारतमा दोस्रो पटक एकै दिन एक हजार भन्दा धेरै मानिसले ज्यान गुमाए। बिहीवार १ हजार ८ जना मानिसले ज्यान गुमाएका छन्। अगस्ट ९ मा १ हजार ७ जनाको ज्यान गुमेको थियो। त्यो रेकर्डलाई हिजो उछिनेको हो।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्लाई आधार लिने हो भने विश्वमा अमेरिका पछि सबैभन्दा धेरै संक्रमितको रेकर्ड भारतमा दर्ता हुन थालेको छ। पछिल्ला दिनमा भारतमा संक्रमितको संख्या यसरी वृद्धि भइरहेको छ कि उसले अब ब्राजिललाई पछि पार्ने सम्भावना बढ्दो छ। दैनिक संक्रमितको संख्यामा केही दिन अघिसम्म ब्राजिल अमेरिकाभन्दा पछिपछि थियो, त्यो स्थानमा अब भारत उक्लेको छ।
