काठमाडौं : आउँदो भदौ ३ गते गोकर्णमा लाग्ने औंशी मेला यसपाला नहुने भएको छ। गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले बिहीवार सूचना जारी गर्दै कुसेऔंशीको दिन मन्दिर क्षेत्र बन्द रहने जानकारी गराएको हो।
'भदौ ३ गते लाग्ने कुशे औंशी मेला, हरितालिका तीज लगायतका पर्वहरुमा मन्दिर क्षेत्र बन्द रहने जानकारी गराइन्छ,' समितिले सूचनामा उल्लेख गरेको छ। आफू पनि बाँचौं, अरुलाई पनि बचाऔं भन्दै समितिले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै यस्तो सूचना जारी गरेको हो।
सरकारले भिडभाड हुने कुनै पनि गतिविधिमाथि निषेध लगाएको छ। कुशे औंशीमा गोकर्णेश्वर मन्दिरमा मेला लाग्छ भने उत्तर गयादेखि मन्दिरसम्म वाग्मती नदी किनारामा श्राद्ध गर्ने परम्परा छ। हरेक वर्ष हजारौं मानिस गोकर्णमा श्राद्धका लागि पुग्ने गर्छन्।
