काठमाडौं : कोभिड-१९ को संक्रमणबाट बढी प्रभावित मध्येको प्रदेश ५ मा कूल संक्रमितमध्ये करिब ८७ प्रतिशत निको भएर घर फर्किएका छन्।
प्रदेशमा बिहीवार साँझसम्मको अध्यावधिक विवरण अनुसार चार हजार ८ सय ७५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ। संक्रमण पुष्टि भएकामध्ये चार हजार २ सय ३९ जना निको भएर घर फर्किसकेका छन्। जुन ८६.९५ प्रतिशत रहेको निर्देशनालयले जनाएको छ।
हालसम्म प्रदेश ५ मा १५ जना संक्रमितको मृत्यु भइसकेको छ। त्यस्तै हाल ६ सय २१ जना संक्रमित उपचारकै क्रममा रहेका छन्। जसमध्ये ८ जना लुम्विनी प्रादेशिक अस्पताल/धागो कारखानामा रहेको कोभिड अस्थायी अस्पतालको आइसीयूमा उपचार गराइरहेका छन्। त्यस्तै २२ जना सोही अस्पतालको सामान्य आइसोलेसन वार्डमा उपचारका क्रममा रहेका छन्। त्यस्तै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेमा १२, बेलझुण्डी कोरोना विशेष अस्पतालमा १८ जनाको उपचार भइरहेको छ।
५ सय ६ जना विभिन्न जिल्लामा तयार भएका सामुदायिक आइसोलेसन सेन्टरमा छन् भने ५५ जना आइसोलेसन सेन्टरमा व्यवस्थापनका क्रममा रहेको निर्देशनालयको बिहीवार राती ८: ३० बजेसम्मको विवरणमा उल्लेख छ।
प्रदेशमा तयार भएका चार वटा कोभिड-१९ विशेष अस्पतालमा हालसम्म ५ सय ७९ जनाले सेवा लिएका छन्। जसमध्ये हाल ६० जनाको उपचार भइरहेको छ। प्रदेशमा मृत्यु भएका मध्ये १ जनाको मृत्यु कोभिड-१९ अस्पतालमा भएको छ।
संक्रमण पुष्टि भइ निको भएकामध्ये तीन हजार ७ सय २१ जना विभिन्न आइसोलेसनबाट निको भएका हुन्। ५ सय १८ जना मात्र कोभिड-१९ विशेष अस्पतालमा उपचारपछि निको भएका हुन्।
प्रदेशमा हालसम्म ६९ हजार ९ सय ३ जनाको थ्रोट स्वाब संकलन गरिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ। जसमध्ये चार हजार ८ सय ५१ जनामा संक्रमण पुष्टि भएको र ६२ हजार ९ सय ३० जनाको रिपोर्ट नेगेटिभ आएको उल्लेख छ। संक्रमण पुष्टि भएका मध्ये २४ जना अन्य प्रदेशमा स्वाब संकलन गरी संक्रमण पुष्टि भएका हुन्।
प्रदेशमा अझै दुई हजार १ सय २२ जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ।
कुन जिल्लाको अवस्था कस्तो?
प्रदेश ५ मा सबैभन्दा बढी प्रभावित जिल्ला हो कपिलवस्तु। त्यहाँ ९०९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ। संक्रमण पुष्टि भएका मध्ये ७ सय ९९ जना निको भएका छन्। जुन कूल संक्रमितको ८७.९० प्रतिशत हो। कपिलवस्तुमा हाल १ सय ९ जना संक्रमित उपचारका क्रममा रहेका छन्। कपिलवस्तुमा एक संक्रमितको मृत्यु भएको छ।
त्यस्तै, हाल सबैभन्दा बढी एक्टिभ केस भएको जिल्ला हो, बाँके। बाँकेमा हाल २ सय ९१ जना संक्रमित उपचारका क्रममा रहेका छन्। बाँकेमा ७ सय २५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएकोमा ४ सय ३१ जना निको भएर घर फर्किएका छन्। जुन ५९.४५ प्रतिशत मात्र हो। बाँकेमा ३ जना संक्रमितको मृत्यु भइसकेको छ।
५ सय ६२ जनामा संक्रमण पुष्टि भएको पाल्पामा निको हुनेहरुको दर ९९.२९ प्रतिशत छ। संक्रमितमध्ये ५ सय ५८ जना डिस्चार्ज भइसकेका छन् भने एक्टिभ केस ३ मात्र छ। पाल्पामा १ जनाको मृत्यु भएको छ।
दाङ जिल्लामा हाल २७ एक्टिभ केस छन्। दाङमा ६ सय ८९ जनामा संक्रमण पुष्टि भएकोमा २ जनाको मृत्यु र ६ सय ६० डिस्चार्ज भइसकेका छन्। गुल्मी जिल्लामा एक्टिभ केस ५ छ। त्यहाँ ३ सय ६८ जनामा संक्रमण पुष्टि भएकोमा ३ जनाको मृत्यु हुँदा ९७.८३ प्रतिशत अर्थात् ३ सय ६० जना निको भएका छन्।
अर्घाखाँचीमा पनि एक्टिभ केस ५ र मृत्यु हुनेको संख्या ३ छ। त्यहाँ संक्रमण पुष्टि भएका ३ सय ३३ जना मध्ये ९७.६० प्रतिशत अर्थात् ३ सय २५ जना उपचार पछि डिस्चार्ज भएका छन्।
रुपन्देही जिल्लामा हाल ७७ एक्टिभ केस छन्। रुपन्देहीमा ४०६ जनामा संक्रमण पुष्टि भएकोमा ३ सय २८ जना निको भइसकेका छन् भने एक जनाको मृत्यु भएको छ। प्युठान जिल्लामा एक्टिभ केस ४० छ। प्युठानमा हालसम्म कसैको पनि मृत्यु भएको छैन। प्युठानमा डिस्चार्ज हुनेको संख्या ३ सय ३७ रहेको छ।
बर्दियामा पनि संक्रमणबाट कैसैको पनि मृत्यु भएको छैन। बर्दियामा २ सय ७७ जनामा संक्रमण पुष्टि भएकोमा ४५ जना उपचारका क्रममा आइसोलेसनमा छन् भने २ सय ३२ जना निको भइसकेका छन्।
१ सय ३० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको नवलपरासीमा उपचारका क्रममा ८ जना आइसोलेसनमा छन्। संक्रमितमध्ये १ सय २२ जना निको भइसकेका छन्। नवलपरासीमा पनि कसैको मृत्यु भएको छैन।
रोल्पामा एक जना संक्रमितको मृत्यु भएको छ। विदेशबाट फर्किएर क्वारेन्टाइनमा आत्महत्या गरेका युवामा संक्रमण पुष्टि भएको थियो। रोल्पमा हालसम्मा ७५ जनामा संक्रमण पुष्टि भएकोमा २ जना मात्र उपचारका क्रममा आइसोलेसनमा रहेका छन्। ७२ जना डिस्चार्ज भइसकेका छन्।
प्रदेशमा सबैभन्दा कम संक्रमण पुष्टि भएको जिल्ला हो रुकुम पूर्व। त्यहाँ २४ जनामा संक्रमण पुष्टि भएकोमा १५ जना डिस्चार्ज भएका छन् भने एक्टिभ केस छ।