PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कालिकोट महाबैमा पहिरो : वडा सदस्य दम्पती भागेर बाचे, ४ जना छोराछोरीको गयो ज्यान



प्रकाश भण्डारी

कालिकोट महाबैमा पहिरो : वडा सदस्य दम्पती भागेर बाचे, ४ जना छोराछोरीको गयो ज्यान

काठमाडौं: कालिकोटको महाबै गाउँपालिका वडा नं ३ नकुगाउँमा पहिरो जाँदा दुई परिवारका ६ जनाको मृत्यु भएको छ। बिहीवार राति पहिरो जाँदा एक घर पुरिएर ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिए।

एउटा परिवारका ४ जनाको र अर्को एक परिवारका २ जनाको मृत्यु भएको गैरेले बताए। वडा सदस्य राजबहादुर बिष्टको घर पहिरोले पुरिएको र उनका ४ जना छोराछोरी र उनका दाजुका २ जना छोरा छोरीको पहिरोमा परि मृत्यु भएको हो। बिष्टको घरमा साँझको खाना खाएर उनका दाजुका छोरा छोरी राति बस्न आएका थिए। बिष्टका श्रीमानश्रीमती भने घरको तल्लो तलमा रहेकाले भागेर बाच्न सफल भएका थिए।

'२ जना आफन्तको घरमा सुत्न गएको बेला पहिरोमा परेका रहेछन्, 'उनले भने। कालिकोटका प्रहरी नायब उपरिक्षक (डिएसपी) श्याम ओलीयाले प्रहरी घटना स्थल पुग्दा सबै जनाको मृत्यु भइसकेको बताए। बिहानै घटनास्थलमा प्रहरी पुगेपनि जिवितै उद्दार गर्न नसकेको उनको भनाई छ। 'प्रहरी त पहिरो गएपछि एकाविहानै पुगेको थियो। तर त्यहाँ हामी पुग्दा सबै ६ जनाको मृत्यु भइसकेको थियो,' ओलीयाले भने।

जिल्लाकै अर्को नरहरीनाथ नगरपालीका वडा न १ मा पहिरो जाँदा दुई जना गम्भीर घाइते भएका छन्। घाइतेको उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याउने तयारी भएको गैरेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell