PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

भौतिक दूरी कायम नगरी बिना मास्क सयौँको भीडमा मुख्यमन्त्री राई, कार्यकर्ता असन्तुष्ट



अनन्तराज न्यौपाने

भौतिक दूरी कायम नगरी बिना मास्क सयौँको भीडमा मुख्यमन्त्री राई, कार्यकर्ता असन्तुष्ट

विराटनगर : प्रदेश नम्बर १ को सरकारले विराटनगरमा चलाएको कोभिड–१९ अस्पतालमा भर्ना भएका बिरामीहरू अक्सिजन नपाएर मरिरहेका छन्। प्रदेशमा ४ सयभन्दा बढी बिरामीले कोभिड अस्पतालको मुख देख्न पाइरहेका छैनन्। अर्कातिर प्रदेशका मुख्यमन्त्री कोभिडसम्बन्धी सामान्य मर्यादाको पनि ख्याल नगरी शिलान्यास र उद्घाटनमा सक्रिय हुन थालेका छन्।

मुख्यमन्त्री शेरधन राईले बिहिबार झापामा करिब ३ सय जनाको सघन उपस्थितिमा भौतिक दूरी कायम नगरी र मास्क पनि नलगाई ४ वटा उद्घाटन कार्यक्रम भ्याएपछि सामाजिक सञ्जालमा यसको तीव्र आलोचना भएको छ।

मुख्यमन्त्रीको कार्यालयका अनुसार मुख्यमन्त्री राईले बिहीवार झापाको अर्जुनधारामा २ वटा सडक, १ दुग्ध सङ्कलन केन्द्र र श्रीकृष्ण–अर्जुनको रथ तथा प्रतिमाको उद्घाटन गरेका थिए।

सङ्घीय सरकारले सार्वजनिक सभा–समारोह नगर्ने, २५ जनाभन्दा धेरै भेला नहुने, भेला हुँदा भौतिक दूरी कायम राख्ने र अनिवार्य मास्क लगाउने भन्ने मापदण्डको निर्माण गरे पनि ४ वटै कार्यक्रममा यसको पालन गरिएको थिएन। 

मुख्यमन्त्री राईसँगै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादु राना पनि सहभागी थिए। राज्यमन्त्री रानाले भने नाक नछोपी चिउँडोमात्र छोपेर मास्क लगाएको पाइएको छ। 

सबै कार्यक्रममा कतिपय स्थानीय सहभागीले मास्क लगाएका थिएनन् भने कतिले चिउँडो मात्र छोपेर लगाएका थिए।

अर्जुनधाराका स्थानीय कुमार भट्टराईले उच्च ओहदाका महानुभावहरू आफैँ उदाहरण बनेर देखिनुपर्नेमा उहाँहरूले नै मापदण्डविपरीत हिँड्नु दुःखद र दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे। 

कार्यक्रममा मुख्य मन्त्री राईले आफ्नो मन्तव्यमा सरकारले जनताको घरघरमा पुगेर सेवा दिइरहेको छ भनेर भाषण गरेका थिए।
मुख्यमन्त्रीको भाषणप्रति व्यङ्ग्य गर्दै नेकपाका पुराना र सक्रिय एक कार्यकर्ता निर्मल तामाङले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्– गेटबाहिर ‘गोरखनाथ’ ‘गोरखनाथ’ भन्नु छाडेको पनि धेरै भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell