PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

दुई डाक्टर, सेना, दूतावासका कर्मचारी सहित ५० नयाँ संक्रमित



राधेश्याम पटेल

दुई डाक्टर, सेना, दूतावासका कर्मचारी सहित ५० नयाँ संक्रमित

वीरगंज : पर्सा र बारामा ५० जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन्। २७ जना पर्साका, २० जना बाराका, २ जना महोत्तरीका र १ जना भारतीयमा संक्रमण देखिएको हो।

संक्रमित मध्ये १२ जना महिला तथा ३८ जना पुरुष रहेका छन्। दुई वर्षका बालकदेखि ६२ वर्षका वृद्धको पीसीआर रिपोर्ट बिहीवार अबेर राति पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी गराए।

उनका अनुसार नारायणी बयोधा अस्पताल गण्डकको एनआइसीयू कक्षमा कार्यरत यसअघि संक्रमित भएकी एक महिला चिकित्सकको कन्ट्र्याक्ट ट्रेसिङमा परेकी २७ वर्षकी एक डाक्टर तथा महोत्तरी घर भइ हाल वीरगंजमा बस्दै आएकी ३७ वर्षकी महिला डाक्टर पनि संक्रमित भेटिएका छन्।

त्यसैगरी, नारायणी अस्पतालको विभिन्न वार्डमा काम गर्ने ७ स्वास्थ्यकर्मी र ३ सुरक्षा गार्ड पनि संक्रमित भएका छन्। वीरगंजको श्रीपुर, घडिआर्वा, कुमालटोल, रेशमकोठीलगायतका अन्य संक्रमितमध्ये केही कन्ट्याक्ट ट्रेसिङमा परेका छन् भने अरु केहीले कोरोनासँग मिल्दो लक्षण देखिएपछि स्वाब संकलन गराएका थिए।

५० जनामध्ये वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका एक जना ३२ वर्षीय भारतीय नागरिक, ग्लोबल आइएमइ बैंकका ४३ वर्षीय पुरुष कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। त्यसैगरी, जितपुर सिमरा उपमहानगरको क्वारेन्टाइनमा कार्यरत एक चिकित्सको कन्ट्याक्ट ट्रेसिङमा परेका १९ जनामा संक्रमण पुष्टि भएका छन्। उनीहरु जितपुर सिमरा उपमहानगरको १४, १५, १६, १७, १८, १९, २१, २२, २५ का बासिन्दा हुन्। जितपुरस्थित नेपाली सेनाका २८ वर्षीय सिपाहीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी, बारा विश्रामपुरका एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell