PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

नारायणकाजीले चिनियाँ नेतालाई भने, 'लिपुलेक नेपाली भूमि हो, भारतसँगको सम्झौतामा चीन स्पष्ट हुन जरुरी छ



पहिलोपोस्ट

नारायणकाजीले चिनियाँ नेतालाई भने, 'लिपुलेक नेपाली भूमि हो, भारतसँगको सम्झौतामा चीन स्पष्ट हुन जरुरी छ

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका नेपाल भारत डिभिजनका निर्देशक छाङ् ज्युछिङले कोभिड-१९ महामारी विरुद्ध लड्न चीनले नेपाललाई सहयोग गर्ने बताएका छन्।

दुई देशले एक अर्कामाथि पर्दै आएको विपदमा साथ दिँदै आएको भन्दै उनले नेपालमा संक्रमण फैलिँदै गर्दा चीनले नजिकबाट नियालिरहेको र आवश्यक सहयोग गर्ने बताए। नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्स र चीनको सिचुवान विश्वविद्यालयको चाइना सेन्टर फर एसियन स्टडिजले आयोजना गरेको वेविनारमा बोल्दै उनले यस्तो बताएका हुन्।

जनस्तर र स्थानीय सरकारहरुले नेपाललाई सहयोग उपलब्ध गराइरहेको उनले बताए।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सि चिनफिङको नेतृत्वमा चीनले महामारी नियन्त्रणमा सफलता हासिल गरेको भन्दै उनले चीनको अनुभवले नेपालमा महामारी नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिए। '२००८ मा सिचुवानमा गएको विनाशकारी भूकम्प र २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पमा एक अर्कालाई पुर्‍याएको सयहोग र सद्भावले नै दुई देशबीचको सुमधुर सम्बन्ध झल्काउँछ,' उनले भने, 'अहिले कोभिड-१९ को महामारीका बेला नेपालले चीनलाई पुर्‍याएको सहयोग र नेपालमा अहिले महामारी बढ्दै गर्दा स्थानीय तहबाट चीनले नेपाललाई सहयोग पुर्‍याएको छ।'

उनले चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेससहितका राजनीतिक दलहरुसँग सुमधुर सम्बन्ध रहेको भन्दै राष्ट्रपति सीले नेपाल भ्रमणका क्रममा राजनीतिक दलका प्रमुख नेताहरुलाई भेट गरेको बताए।

उनले नेपाल चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को प्रमुख साझेदार भएको भन्दै नेपाल चीन रेलवेको सम्भाव्यता अध्ययन सुरु भएको बताए। यसले नेपाललाई ल्यान्ड लक्डदेखि ल्यान्डलिंक्ड बनाउने बताए।

उनले नेपालले एक चीन नीतिप्रति सधै प्रतिवद्ध रहेको र नेपाली भूमि चीनविरुद्ध प्रयोग गर्न नदिएको भन्दै धन्यवाद दिए। साथै उनले नेपालको सार्वभौमिकता र स्वतन्त्रताको रक्षाका लागि चीनले सधै नेपाललाई साथ दिने बताए।

वेविनारमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल चीन सम्बन्धलाई थप अगाडि बढाउन चिनियाँ नेतृत्वले तीन कुरालाई ध्यान दिनुपर्ने बताए।

भारत र चीनबीच २०१५ मा लिपुलेकलाई लिएर भएको सम्झौताले नेपालको सार्वभौमिकतामा हस्तक्षेप भएको भन्दै यस विषयमा चीन स्पष्ट हुन जरुरी रहेको उनले बताए। प्रवक्ता श्रेष्ठले लिपुलेक भारत र चीनको सम्झौताको मात्र विषय हुनै नसक्ने बताउँदै नेपालको संलग्नता आवश्यक रहेको बताए।

त्यस्तै उनले चीनले नेपालको पूर्वाधार विकाससँगै आर्थिक विकासमा पनि ध्यान दिनुपर्ने बताए। नेपालको आर्थिक विकासले चीनलाई पनि फाइदा पुग्ने उनको भनाइ थियो। त्यस्तै चीनले नेपालको भुराजनीतिक संवेदनशीलतालाई बुझेर अगाडि बढ्नुपर्ने बताए।

नेपाल सँगै एक चीन नीतिमा प्रतिवद्ध रहेको र विश्वासयोग्य मित्रको रुपमा नेपाल उभिनुपर्ने बताए।  

श्रेष्ठले चीन र भारतबीचको मित्रताबाट फाइदा लिन सक्ने भन्दै दुई छिमेकीले देखिएका विवाद आपसमा मिलेर समाधान गर्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell