काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमका एक जना खेलाडीमा कोरोना संक्रमण पुष्टी भएको छ।
एन्फाले सोमवार र मंगलवार खेलाडीहरुको स्वाब संकलन गराएको थियो। जसमा सोमवार स्वाव संकलन गरिएका सबैको नतिजा नेगेटिभ आएको थियो। तर मंगलवार गरिएको परीक्षणमा एक जना खेलाडीको पुनः परीक्षण गर्नुपर्ने र बाँकीको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।
स्वाब पुनः परीक्षणमा पठाइएको खेलाडीको कोरोना परीक्षण पोजेटिभ देखिएको एन्फाका एक अधिकारीले जानकारी दिए।
उनले भने,' एकजना खेलाडीको दुई पटकसम्म रिपोर्ट पोजेटिभ आयो। अब प्राइभेट हस्पिटलमा पनि परीक्षण गराउने तयारी गरिरहेका छौं।' संक्रमित खेलाडीलाई अहिलेसम्म कुनै लक्षण नदेखिएको उनले बताए।
भदौ १ गतेबाट नेपाली राष्ट्रिय फुटबल टिमले अक्टोबर र नोभेम्बरमा खेल्ने भनिएको फिफा कतार विश्वकप २०२२ र एएफसी एसिया कप चीन २०२३ को छनोट अन्तर्गतका खेलका लागि अभ्यास शुरु गराउने तयारी एन्फाको थियो। तर, विश्वकप छनोटका खेलहरु सन् २०२१ सम्मको लागि स्थगित भएको एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले स्थगित गरेसँगै एन्फाले अभ्यासलाई पनि स्थगित गरेको छ। क्वारेन्टाइनमा रहेका खेलाडीहरुलाई एन्फाले रिलिज गरिसकेको छ।
यसअघि स्वाक्सका एकजना प्रशिक्षक र क्रिकेटका एकजना पूर्वराष्ट्रिय खेलाडीमा कोरोना पुष्टी भइसकेको छ।
