नयाँ दिल्ली : भारतमा कोभिड १९ संक्रमित भएका कुल सङ्क्रमित मध्ये ७१.१७ सङ्क्रमितहरु सङ्क्रमण मुक्त भएका छन्। भारतमा शुक्रबारसम्म कुल सङ्क्रमितको संख्या २४ लाख नाघेको छ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार देशभरी अहिले १७ लाख भन्दा बढी सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन्। उनीहरुका अनुसार भारतमा अहिलेसम्म १७ लाख ५१ हजार ५५५ जना सङ्क्रमण मुक्त भएका हुन्।
मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक हजार ७०० जनाको मृत्यु भएको छ भने संख्या ६४ हजार ५५३ जना सङ्क्रमित भएका छन्। त्यसैगरी कोरोनाबाट सङ्क्रमित भएकाहरु मध्ये १.९५ प्रतिशतको मात्रै मृत्यु हुने गरेको मन्त्रालयले जनाएको छ।
भारतमा अहिलेपनि झण्डै छ लाख ६० हजार मानिस सङ्क्रमित अवस्थामै रहेका छन्। यो संख्या कुल सङ्क्रमित मध्येको २६.८८ प्रतिशत हो। भारतमा कुल सङ्क्रमितको संख्या २० लाख नाघेको यही अगस्ट ७ मा हो। सरकारी अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म दुई करोड ७६ लाख मानिसको कोरोना परीक्षण गरिएको छ। ती मध्ये आठ लाख ४८ हजार ७२८ जनाको बिहीबार मात्रै परीक्षण गरिएको हो। यो संख्या एकैदिनमा परीक्षण गरिएकाहरुको संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएका कुल एक हजार ७०० जना मध्ये महाराष्ट्र प्रदेशका मात्रै सबैभन्दा धेरै ४१३ रहेको छ। त्यसैगरी तमिलनाडुमा ११९, कर्नाटकमा १०३, आन्ध्रप्रदेशमा ८२, पश्चिम बंगालमा ५६, उत्तर प्रदेशमा ५०, पञ्जावमा ३१, गुजरातमा, १८ जना सङ्क्रमितको मृत्यु भएको छ।
अधिकारीहरुका अनुसार मध्य प्रदेशमा १७, दिल्ली राज्यमा १४, झारखण्डमा १२, जम्मु काश्मिर र राजस्थानमा ११÷११ जना र बिहारमा दश जनाको पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएको छ।
त्योभन्दा थोरै संख्यामा देशका अन्य प्रदेशहरुमा पनि मृत्युको विवरणहरु प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ। भारतमा अहिलेसम्म कोरोनाका कारण ४८ हजार ४० जनाको मृत्यु भएको छ। ती मध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रदेशका कुल १९ हजार ६३ जनाको मृत्यु भएको छ। पिटिआई
