काठमाडाैं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको लामो समयदेखिको विवाद सुधारोन्मुख देखिएको छ।
आज प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अधयक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तामा विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति बनेसँगै विवाद सुधारोन्मुख देखिएको हो ।
पार्टीभित्र देखिएका समस्या पार्टीभित्र नै समाधान गर्न सकिन्छ भन्ने निष्कर्षमा अध्यक्षद्वय पुगेको कार्यदलका संयोजक विष्णु पौडेलले बताए। समस्यालाई संस्थागत ढंगले समाधान गर्न नेकपाले ६ सदस्य रहेको कार्यदल गठन भएको हो। जसमा महासचिव पौडेलसँगै स्थायी समति सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल रहेका छन्।
कार्यदलले समस्या र समाधान के? भन्ने विषयमा विस्तृत छलफल गरी प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने पौडेलले बताए।
प्रतिवेदन अध्ययन गरी अध्यक्षद्वले पार्टीको औपचारिक बैठकमा प्रस्तुत गर्ने उनले बताए।
महासचिव पौडेलले पार्टीभित्र जुनसुकै समस्या देखिए पनि समस्याहरुको सकारात्मक समाधान गरि एकतालाई सबल बनाउँदै अगाडि बढ्नुपर्छ भन्ने निष्कर्षका साथ कार्यदल गठन भएको जानकारी दिए।
पौडेलले नेकपा विभाजनको कल्पना गर्ने प्रवृतिको अगाडि अझ एकतावद्ध भएर अगाडि बढ्ने सन्देश प्रवाह भएको बताए ।
नेकपामा कुनै प्रकारकाे बिग्रह हुँदैन : महासचिव पाैडेलनेकपामा कुनै प्रकारकाे बिग्रह हुँदैन : महासचिव पाैडेल
Posted by PahiloPost on Friday, August 14, 2020
‘पार्टीमा विग्रहको कल्पना गरेका थिए कतिपयले। नेकपामा कुनै प्रकारको विग्रह हुँदैन। एकतावद्ध भएर अगाडि बढ्छ। नेकपाको एकता अक्षुण्ण रहन्छ भन्ने कुरा सुनिश्चित भएको छ,' उनले भने।
महासचिव पौडेलले नेकपा एकतावद्ध रहने कुरामा आश्वस्त रहन सबैलाई आग्रह गरे।
‘आफ्नो अभिभारा सफलतापूर्वक पुरा गर्न नेकपा अगाडि बढेको छ। नेकपामा विग्रहको खोजी गर्ने शक्तिहरु, प्रवृतिहरु र तत्वहरुलाई भन्न चाहन्छु, अब नेकपाभित्र खेल्ने यस प्रकारका कोसिस नगर्नुहोला। नेकपा आफ्नो अभिभारा बुझ्न समर्थ छ। जनताले दिएको जिम्मेवारी पुरा गर्न प्रतिवद्ध छ, उनले भने।’
पार्टीभित्रका समस्याहरु जटिल अवस्थामा रहेको उल्लेख गर्दै उनले पार्टीका आन्तरिक समस्याका कारण सरकार सञ्चालनमा समेत समस्या रहेको बताए।
उनी भन्छन्, 'समस्याहरु निकै जटिल अवस्थामा पुगेको सत्य हो। जसले गर्दा पार्टी र सरकारका काममा विभिन्न प्रकारका व्यवधान सिर्जना भए। प्रभावकारी ढंगले काम अगाडि बढ्न सकेनन। अब सरकार र पार्टीका काम प्रभावकारी ढंगले अगाडि बढाउँछौं। सरकार र पार्टी दुबै प्रभावकारी भूमिकाका साथ प्रस्तुत हुन्छन्।'
