काठमाडौं : उपत्यकामा कोभिड-१९ को संक्रमण बढ्दै गइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमण फैलाउन सक्ने विभिन्न कार्यहरुमा निषेध गरेको छ। प्रशासनले विज्ञप्ति जारी गर्दै शुक्रवार राति १२ वजेदेखि भदौ १५ गते १२ वजेसम्म लागू हुने गरी काठमाडौं जिल्लाभर विभिन्न गतिविधिहरु निषेध गरिएको जनाएको छ।
निषेध गरिएका गतिविधिहरु :
- खुल्ला स्थानमा मानिसहरु भेला/जम्मा हुन, भीडभाड गर्न, सभा/जुलुस गर्न,
- भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव सञ्चालन गर्न,
- दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु,
- उद्योग व्यापार/व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरु,
- चाडपर्व लगायतका धार्मिक, सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु,
- शैक्षिक संस्थाहरु सञ्चालन गर्न,
- सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरजन स्थल, शैलून, ब्यूटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न,
- फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा/साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न,
- उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक/कामदारको ओसार पसार गर्न,
- टेक अवे बाहेक होटल/रेस्टुरेन्ट सञ्चालन गर्न।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम यी गतिविधिहरु गर्न निषेध गर्ने गरी आदेश गरीएको छ। सो आदेश विपरीतका कुनै गतिविधि भएमा सोही ऐन बमोजिम कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।

