PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

भरतपुर महानगरपालिका क्षेत्रभित्र एक हप्ताका लागि निषेधाज्ञा जारी



पहिलोपोस्ट

भरतपुर महानगरपालिका क्षेत्रभित्र एक हप्ताका लागि निषेधाज्ञा जारी

काठमाडौं : कोभिड-१९ को संक्रमण नियन्त्रण गर्न भरतपुर महानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगर क्षेत्रभित्र लागू हुनेगरी शुक्रवार राति १२ बजेदेखि ७ दिनका लागि निषेधाज्ञाको घोषणा गरेको छ।

निषेधाज्ञामा प्रशासनले तोकेका अत्यावश्यक सेवाहरूलाई बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न सकिने बताइएको छ। सो अवधिमा दमकल, एम्बुलेन्स, औषधि पसल, अस्पतालहरू, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, इन्धनका ट्यांकर, पशुपक्षीका दाना ढुवानी गर्ने साधन, अत्यावश्यक काममा खटिने कर्मचारी, राजमार्गमा चल्ने मालबाहक सवारी साधन र अन्य अनुमति लिएका सवारी साधन निर्वाध रुपमा सञ्चालन हुने बताइएको छ। दुध डेरी, फलफूल, तरकारी, पानी, खाद्यान्न पसल, ग्यास डिपो तथा अन्य अत्यावश्यक सेवा प्रवाह गर्ने निकायहरु तोकिएको समयबमोजिम सञ्चालनमा आउने छन्।

यसैगरी, निषेधाज्ञामा शैक्षिक संघ संस्थाहरू, बैंक तथा वित्तीय संस्थाहरु, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनारहरू, सबै प्रकारका प्रदर्शन, भेला, सम्मेलन, चलचित्र भवन, पार्टी प्यालेस, डान्सबार, होटल रेस्टुरेन्ट तथा मनोरञ्जन स्थल, पुस्तकालय, स्विमिङ पुल, जिमखाना, सपिङ मल, धार्मिक क्रियापकलाप, राजमार्ग तथा अन्य सडकहरूमा सवारी अनुमतिबिनाका सबै प्रकारका सवारी साधनहरु, उद्योग कलकारखाना सञ्चालन गर्न निषेध गरिएको छ।

निषेधाज्ञालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गराउन सम्पूर्ण उद्योगी, व्यवसायी, सर्वसाधारणका साथै महानगरपालिकाका जनप्रतिनिधि तथा अन्य सम्बद्ध व्यक्तिहरूलाई महानगरले अनुरोध गरेको छ।

त्यस्तै, एक हप्ता घरभित्रै रहन, कोरोना रोगको शंका लागेमा उच्च मनोबलका साथ सुरक्षा सावधानी अपनाई नजिकको स्वास्थ्य संस्था तथा वडा कार्यालयलाई जानकारी गराई परिस्थितिजन्य निषेधाज्ञाको पूर्णरूपमा कार्यावन्यवन गर्न महानगरले अपिल समेत गरेको छ।

पछिल्ला दिनमा महानगरपालिका क्षेत्रभित्र कोरोनाको संक्रमण उल्लेख्य रूपमा बढेको छ। यसले कोरोना महामारी भरतपुरमा पनि समुदायस्तरमै फैलिन सक्ने संकेत देखा परेको भन्दै महानगरले सतर्कता अपनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell