काठमाडौं : नेपाली काँग्रेसलाई यतिबेला १४ औं महाधिवेशनले छोपेको छ। गाउँदेखि केन्द्रसम्म महाधिवेशन केन्द्रित गतिविधि बढ्न थालेका छन्। नेता कार्यकर्ताको भेट बाक्लिएको छ। गएका सबै तहका निर्वाचनमा नराम्ररी हार व्योहोरेको काँग्रेस यतिखेर ‘गर या मर’को अवस्थामा पुगेको छ। आउँदो निर्वाचनमा जनमत आफ्नो पक्षमा पार्न नसक्ने हो भने काँग्रेसको अस्तित्वविहीन यात्रातिर हुनेछ। पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वलाई रुचाउनेहरु काँग्रेसभित्र भेटिने कठिन छ। उत्तिकै कठिन छ, उनीविरुद्ध बोल्नेहरु भेट्न पनि। तर, महाधिवेशन नजिकिँदै जाँदा दवेका स्वरहरु मुखारित हुनेक्रम बढेको छ। देउवाका नजिक मानिएकाहरु पनि उनीसँग टाढिँदै छन्।
काँग्रेस सभापति पदका सदाबहार दावेदार रामचन्द्र पौडेलबाहेक यतिखेर शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि खुलेरै लागिसकेका छन्। बिहीवार विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सभापति पदमा आफ्नो आकांक्षा प्रस्ट्याइसेका छन्। देउवामात्र होइन, शशांक कोइराला र प्रकाशमान सिंहलाई भेटेर उनले सभापति पदमा आफ्नो दावेदारी पेश गरिसकेका छन्। शशांक कोइराला पनि परिवारको जोडघटाउ मिलाउँदै सभापति पदका लागि सक्रिय छन्। त्यस्तै तयारीमा छन् प्रकाशमान सिंह पनि। नेपाली कांग्रेसको राजनीतिक सतहमा यतिखेर सभापतिका दावेदारहरु हुन् : शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह। त्यसबाहेक चर्चा चाहिँ शेखर कोइरालाको पनि नभएको होइन, तर यतिखेर उनी सिनबाट बाहिर छन्।
पार्टी सभापतिमा शेरबहादुर देउवाको लगातार आकांक्षा एकातिर छ भने लामो समयदेखि निष्ठाको राजनीति भन्दै आएका रामचन्द्र पौडेलको चाहना अर्कोतिर। त्यसबाहेक काँग्रेसका तीन नेता कोइराला, निधि र सिंहमाथि धेरैको नजर छ। यिनीहरु क्रमश: बीपी, महेन्द्रनारायण र गणेशमानका उत्तराधिकारी हुन्। राजनीतिमा लिगेसीले ठूलो अर्थ राख्छ। नेपाली काँग्रेसका संस्थापक नेताका छोराहरुप्रति कार्यकर्ताहरु नजर लगाएर बसिरहेका छन् – के काँग्रेसको ड्राइभिङ सिटमा लिगेसीसहितको पुस्तान्तर हुन्छ?
गणेशमानको प्रकाश : प्रकाशमान
पार्टीमा प्रकाशमानका पिता गणेशमानको त्याग र निष्ठाको चर्चा हुने गर्छ। भारतमा बीपी कोइरालासँग भेटपछि २००३ मा स्थापना भएको नेपाली काँग्रेसलाई सबल बनाउन गणेशमान लागिपरेका थिए। सिंहको नेतृत्वमा २००७ मा वीरगंजमा सशस्त्र संघर्ष भएको थियो। पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमान राजा महेन्द्रको २०१७ को कदमपछि आठ वर्ष निरन्तर कारावासमा रहे।
बाबुको विरासत हेर्ने हो भने प्रकाशमान सिंह कुनै हिसाबले पछाडि छैनन्। नेपाली राजनीतिको सर्वमान्य नेताका पुत्र यतिखेर चाक्सीबारीमा बिहानैदेखि कार्यकर्ता भेटमा जुटिरहेका हुन्छन्।
गणेशमानको लिगेसीमात्र होइन, लगातार पार्टी पङ्तिमा सक्रिय छन् उनी। केन्द्रीय उपसभापति भइसकेका सिंह काँग्रेस चौतर्फी संकटमा घेरिएको स्वीकार्छन्। उनलाई थाहा छ देउवाको नेतृत्वमा पार्टीको भविष्य छैन। सभापति देउवा सत्तासँग जसरी जोडिएका छन् त्यसले प्रतिपक्षी दलकै अभाव गराएको बुझेका छन् उनले। त्यसैले यसपालाको महाधिवेशनबाट नेतृत्व बदल्नुको विकल्प देखेका छैनन्। बिहानैदेखि हुने उनको सक्रियताले त्यसको संकेत पनि गर्छ।
एकातिर गणेशमान सिंहको लिगेसी, अर्कातिर सरल स्वभाव, प्रकाशमान सिंहका गुण हुन्। तर, राजनीति यिनै गुणको आधारमा मात्र टिक्न सक्दैन। राजनीतिको खेल सोझो र सरल हुँदैन।
काठमाडौंको संगठनमा नेविसंघको अध्यक्षदेखि पार्टीको जिल्ला सभापति हुँदै केन्द्रमा उपसभापति, निर्वाचित पहिलो महामन्त्री, संसदीय दलको उपनेता, पटक–पटक मन्त्री र उपप्रधानमन्त्री सिंहको बायोडाटा हेर्दा उनी सबैतिर ठीक लाग्छन्। तर, उनी देउवा इतर समूहको ग्याङमा छन् जसबाट रामचन्द्र पौडेल र शशांक कोइराला दुवैले आकांक्षा देखाइसकेका छन्। सिंहसामु पहिलो चुनौती नै यही हो – पौडेल र कोइरालालाई कसरी मनाउने?
बीपीको विरासत : शशांक
काँग्रेस राजनीतिबाट प्रकाश कोइराला रिङ आउट भइसकेपछि बीपीको उत्तराधिकारीको खोजी भयो। प्रोफेसनल करिअरको लामो बाटो पछिमात्रै राजनीतिमा इन्ट्री गरेका शशांक यतिखेर भने चर्चाको केन्द्रमा छन्। बीपी कोइरालाले सैद्धान्तिक जग तयार गरेकाले शशांकबाट काँग्रेसका केही हुने अपेक्षा गर्नेहरुको ठूलो संख्या छ। शशांकमाथि काँग्रेसका कार्यकर्ताले जति अपेक्षा गरेका छन्, सायदै उनले आफूमाथि गरेको हुनुपर्छ। किनकि आफ्नो हैसियतबारे शशांक जति कसैले बुझ्न सक्दैन। मृदुभाषी छन् शशांक। कहिलेकाही अवोधजस्तो पनि लाग्छ। उनको यही सरलता र बीपी कोइरालाको पुत्र हुनुको विरासतले गएको काँग्रेस महाधिवेशनमा उनले महामन्त्री पदमा सहज जित हासिल गरे।
एघारौं महाधिवेशनबाट पार्टी राजनीतिमा इन्ट्री गरेका उनका लागि यो जित सानो उपलब्धी थिएन। र, त्यसकै जगमा उनी सभापतिको आकांक्षी बन्ने हैसियतमा पुगेका छन्। यद्यपि, सांगठनिक एवम् राजनीतिक अनुभव भने उनमा अरुभन्दा कम छ। तिकडमवाला राजनीतिमा कत्तिको खरो छन्, काँग्रेसी कार्यकर्ताले देख्न पाएका छैनन्। लिगेसी बलियो भए पनि अनुभवको कमी भएको शशांक स्वीकार्छन्। उनको यही स्वीकारोक्तिले कार्यकर्ताको मन जितेको छ।
जीवनभर प्रजातन्त्रका लागि लडेका बीपीले स्थापना गरेको काँग्रेसमा उनकै पुत्र देख्न चाहनेहरु पनि छन्। आजसम्म पनि बीपीको आदर्श, विचार र सिद्धान्त काँग्रेसको देखाउने हतियार रहँदै आएको छ। शशांकलाई थाहा छ – शेरबहादुर देउवा वा अरु कोहीसँगको प्रतिस्पर्धाभन्दा पहिले घरभित्रैको आकांक्षाको व्यवस्थापन कठिन छ। त्यसपछि रामचन्द्र पौडेल र प्रकाशमान सिंहको आकांक्षालाई थाँती राखेर नेतृत्वको बागडोरका लागि भिड्नु सजिलो छैन। शेखर कोइरालालाई कन्भिन्स गराउनुपर्ने वाध्यता पनि छ। त्यसैले राजनीतिको यो रेसमा उनले पहिले परिवारभित्र जित हासिल गर्नुपर्ने छ।
महेन्द्र नारायणको निधि : विमलेन्द्र
पार्टी सभापतिमा आफ्नो निरन्तरता चाहिरहेका शेरबहादुर देउवालाई बिहीवार विमलेन्द्र निधिले भेट्दै भने – सभापतिमा म उम्मेदवारी दिन्छु, सहयोग गर्नुस्। सधैं देउवालाई साथ दिँदै आएका निधिको यो भेट र प्रस्तावको राजनीतिक अर्थ धेरैखाले भए पनि एउटा संदेश चाहिँ प्रवाह भयो – अब देउवाकै लागिमात्र राजनीतिक त्याग गर्न निधि तयार छैनन्।
काँग्रेसका निर्वाचित महामन्त्री भइसकेका निधि १३ औं महाधिवेशनमा उपसभापतिमा मनोनित भए। क्षेत्रीय राजनीतिको भेलले कोर्स फेरिरहँदा निधि काँग्रेसभित्र जब्बर बनेर अडिरहे। कांग्रेसका संस्थापक नेतासमेत रहेका उनका बुबा महेन्द्रनारायण निधि काँग्रेस महामन्त्री थिए। बुबाको लिगेसी र बीपीको प्रेरणाका फ्युजन हुन् विमलेन्द्र।
पार्टीमा सभापति शेरबहादुर देउवाको सारथीका रुपमा चिनिएका उनी पटकपटक मन्त्री र उपप्रधानमन्त्री भइसकेका छन्। निधिले देउवासँगको सहकार्यलाई अझै निरन्तरता दिएका छन्। र, त्यो निरन्तरतासँगै आफूलाई सघाउन पनि भनिसकेका छन्। देउवामात्र होइन, सभापतिको आकांक्षासहित उनले राजनीतिक भेट तीब्र पारेका छन्। लिगेसी नै बोकेका शशांक कोइराला र प्रकाशमान सिंहसमेत उनले छलफल अगाडि बढाइसकेका छन्।
२०३६ सालमा जनकपुरमा भएको नेपाल विद्यार्थी संघको महाधिवेशनबाट उनी अध्यक्ष भएका थिए। बीपी कोइरालाले उनको क्षमतालाई चिनेका थिए। विमलेन्द्रका बुबा महेन्द्रनारायणलाई गान्धीवादी नेता। पटकपटक जेलनेल गएका र भारतमा निर्वासनसहित निष्ठाको राजनीति गरेका। विमलेन्द्र महेन्द्रनारायण र बीपी दुवैलाई आफ्नो आदर्श मान्छन् र तिनकै पदचापमा हिँड्ने बताउँछन्।
यतिखेर रोचक के छ भने, बीपी कोइरालाको चाहनामा दुई कार्यकाल पूरा गरेका शेरबहादुर देउवाको सक्सेसरका रुपमा निधिको नेविसंघबाट राजनीतिक उदय भएको थियो। यतिखेर पनि देउवाको सक्सेर बन्लान् त उनी?
लिगेसीमा शशांक बलिया, संघर्षमा प्रकाशमान र विमलेन्द्र
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य यी तीन नेतामध्ये लिगेसीमा सबैभन्दा बलिया शशांकलाई मान्छन्।
'काँग्रेसमा लिगेसी भनेको कोइरालाहरुकै हो। तर, सुजाता पनि हारिन्। शेखरले पनि चुनाव हारे। विचार बीपीको हो। त्यसैले, स्ट्रङ लिगेसी शशांक कोइरालाको देखिन्छ। लिगेसीको असली दाबेदार हुन् उनी,' आचार्यले भने।
त्यसो त महामन्त्री हुँदा शशांकले ठूलो प्रभाव भने छोड्न सकेका छैनन्।
'तर उनलाई रिसोर्ट काँग्रेसका रुपमा लिएको छ। बीपी आफैले भन्नुहुन्थ्यो मेरो छोराहरु फाइभ स्टार काँग्रेस भए,' आचार्यको टिप्पणी छ, 'महामन्त्रीमा जितेर शशांकले केही काम गरेनन्। लिगेसी धानेनन्। नेतृत्वको सिरियस क्यान्डिडेट हुन सक्थे उनी। तर आफ्नो लिगेसी आफैँले भत्काए। देशभर उनको भूमिकामाथि प्रश्न उठेको छ।'
आचार्यको नजरमा शशांकका लागि राजनीति ‘झन्झट’कै विषय हुनसक्छ। हामीसँगको भेटमा पनि शशांकले भनेका थिए, ‘मलाई राजनीतिमा आउनु वाध्यता हो।’ सभापतिको चाहना हुनुलाई पनि उनले वाध्यात्मक परिस्थितिको उपज भएको बताएका थिए।
'अहिले उनमा एक किसिमको राजनीतिक झन्झट् लागेको जस्तो देखिन्छ। पहिले पनि दु:ख गरेका हैनन् नि उनले। भोलिन्टियरजस्तो देखिन्छन्,' आचार्यले भने।
शशांकको तुलनामा प्रकाशमान र विमलेन्द्रको लिगेसी कमजोर ठम्याउँछन् आचार्य। तर, इतिहास र संघर्षको हिसाबमा दुवैजना शशांकभन्दा सशक्त रहेको स्वीकार्छन्।
'विमलेन्द्र निधि र प्रकाशमान सिंहसँग इतिहास र संघर्ष छ। निधि नेविसंघको अध्यक्षदेखि संघर्ष गर्दै आएका हुन्। पिताजी गणेशमान भएपछि प्रकाशमानले जेलनेल सहेका छन्,' आचार्यले भने, 'तर दुवैले विचार छाडेका हैनन् समर्पण छाडेका हुन्। दुवै जनामा लिगेसीले खासै काम गरेको देखिँदैन।'
शशांक, प्रकाशमान र विमलेन्द्र तीनै नेता नेतृत्वको रेसमा दौड्नेमा भने आचार्यले शंका व्यक्त गरे। भने, 'मलाई लाग्छ तीनै जना रेसमा आउन सक्दैनन्। सिरियस क्यान्डिडेट नै हैनन्। शशांक त केन्द्रीय सदस्यमा अट्छन् कि। विमलेन्द्र निधिको हालका सभापति देउवासँग समर्पण छ। उनी पनि आउने छाँट देखिँदैन। प्रकाशनमानको वरिष्ठ नेता रामचन्द्र पौडेलसँग कुरा मिलाउनैपर्छ। तर, राजनीति हो। भोलि के होला, त्यो अहिल्यै भन्न सकिन्न।'