काठमाडौं : झन्डै दुई सातादेखि पूर्णरुपमा सिल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा 'बग्गीखाना'को सिल हटेको छ। दुई साताअघि महाशाखाका कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि पूर्णरुपमा सिल गरिएको थियो।
महाशाखामा कार्यरत करिब ३ सय प्रहरीलाई क्वारेन्टाइनमा राखेर परीक्षण गरिएको थियो। सबैको परीक्षणपछि सुरक्षित तरिकाले काम सुरु भइसकेको महाशाखाका एसएसपी भीम ढकालले जानकारी दिए। भने, 'सबैको परीक्षण भइसक्यो। त्यसैले अब क्वारेन्टाइनमा रहेका प्रहरीलाई समेत ड्युटीमा खटाइसकेका छौं।'
सुरुमा संक्रमण देखिएका प्रहरीको कन्ट्र्याक्ट ट्रेसिङमा आएका प्रहरीको कोरोना परीक्षण गरिएको थियो। उनीहरु मध्ये १७ जनामा कोरोना देखिएको थियो। हाल उनीहरु उपचारको लागि अस्पतालमा छन्। १७ जनामध्ये दुई जना उपचारपछि फर्किसकेका छन्।
'कोरोना पोजेटिभ भएकालाई अस्पतालमा राखेर बाँकीलाई ड्युटीमा खटाएका छौं। सडकमा खटिँदा पनि सजकता अपनाउन निर्देशन दिएका छौं,' एसएसपी ढकालले भने।
उपत्यकाभित्र १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन्। जसमा ३ सयभन्दा बढी क्वारेन्टाइनमा भएपछि ट्रफिक व्यवस्थापनमा केही अहसज भएको थियो। सडकमा खटिने प्रहरीलाई अनिवार्य मास्क, पञ्जा, फेस भाइजर लगायत संक्रमणबाट जोगिने उपकरण प्रयोग गर्न निर्देशन दिइएको छ।
