PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

प्रदेश सरकारले सत्तामा बस्ने नैतिक अधिकार गुमाइसकेको काँग्रेसको टिप्पणी, अक्सिजन र भेन्टिलेटर थप्न आग्रह



अनन्तराज न्यौपाने

प्रदेश सरकारले सत्तामा बस्ने नैतिक अधिकार गुमाइसकेको काँग्रेसको टिप्पणी, अक्सिजन र भेन्टिलेटर थप्न आग्रह

विराटनगर : नेपाली काङ्ग्रेसले प्रदेश नम्बर १ का कोभिड–१९ उपचार केन्द्र पर्याप्त अक्सिजन र भेन्टिलेटर भएका शय्या थप्न माग गरेको छ।

नेपाली काङ्ग्रेस प्रदेश नम्बर १ प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीले शनिबार भर्चुअल पत्रकार सम्मेलन गर्दै उपचार केन्द्रमा अक्सिजन र भेन्टिलेटर थप्न माग गरेका हुन्।

‘प्रदेश सरकारले विराटनगरमा १० दिनमा मैले के–के न गरेँ भनेर देखाएजस्तो गरेर चैत २१ गते कोभिड–१९ अस्पतालको उद्घाटन गरेको थियो’, प्रमुख सचेतक कार्कीले भने, ‘तर ३ करोडभन्दा बढी खर्च गरेर सञ्चालनमा ल्याइएको यस अस्पतालमा अक्सिजनको अभावमा बिरामीहरू छट्पटाएर मृत्युको मुखमा परिरहेका छन्।’

कार्कीले उद्घाटनका अवसरमा प्रदेश सरकारले विराटनगरको कोभिड–१९ अस्पताललाई लेभल–२ को बनाइने घोषणा गरेको तर हाल त्यहाँ बिरामीले शौच जानसमेत नपाएको उल्लेख गरे।

उनले यस अस्पतालमा बिरामीलाई भेडाबाख्राझैँ राखिएको र न्यूनतम मानवीय व्यवहारसमेत नगरिएको जिकिर गरे।

‘यस प्रदेशमा ५ सयभन्दा बढी बिरामी सरकारी आइसोलेसनबाट बाहिर आफ्नै घर वा डेरामा छटपाटएर बसिरहनु भएको छ’, उनले भने, ‘धेरै बिरामीहरू सरकारी आइसोलेसनमा बसेर उपचार गराउन चाहनुहुन्छ तर पाइरहनु भएको छैन। अर्कातिर प्रदेशका सरकार प्रमुख रहनु भएका मुख्यमन्त्री शेरधन राई सरकार घरघरमा गएर सेवा दिइरहेको छ भनेर झुट्टो भाषण गर्दै हिँडिरहनु भएको छ। प्रदेश सरकार कति अनैतिक धरातलमा उभिएको छ भनेर यसैबाट स्पष्ट हुन्छ।’

कार्कीले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारले ३ सय शय्याको कोभिड–१९ अस्पताल निर्माण गर्न ४ महिना पहिले नै १२ करोड रुपैयाँ निकासा गरेको जानकारी दिँदै त्यत्रो रकम कहाँ, कसरी र केमा खर्च गरियो भन्ने प्रश्न गरे।

प्रमुख सचेतक कार्कीका अनुसार धरानको कोभिड–१९ अस्पतालका विषयमा राजनीतिक दल, सञ्चार माध्यम र नागरिक समाजले प्रश्न उठाउन थालेपछि १८ शय्या राखिएको छ। त्यहाँ अक्सिजन र भेन्टिलेटरको कुनै व्यवस्था छैन। जबकि ३ सय शय्याको अस्पताल बनाउन सरकारले त्यहाँ १२ करोड रुपैयाँ दिएको छ।

उनले प्रारम्भिक अवस्थामै कोभिड–१९ को नियन्त्रण र सङ्क्रमितको उपचारका सवालमा प्रदेश सरकार अकर्मण्य र विफल सावित भएको टिप्पणी गरे।

प्रमुख सचेतकको भनाइ थियो, ‘सरकारले कोरोना सङ्क्रमण देखिएका नागरिकको उपचार गर्न त सकेको छैन–छैन, अन्य बिरामी पनि उपचारबाट वञ्चित हुनुपरेको छ। आज कुनै आकस्मिक उपचार वा शल्यक्रिया गर्नुपर्यो भने सरकारी र निजी सबै खाले अस्पतालले हात उठाएको अवस्था छ।

कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकार सत्तालाई आड बनाएर राज्यकोषको ब्रह्मलूट गर्न मात्र पल्किएको छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ र यो सरकारबाट जनताका दुःख, पिर, मर्का र समस्यामा कुनै सहयोग नहुने स्पष्ट देखिएको छ। तसर्थ यस्तो जनविरोधी र अलिकति पनि मानवता नभएको सरकारले सत्तामा बस्ने नैतिक अधिकार गुमाइसकेको छ भन्ने हाम्रो ठहर छ।’

उनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीले प्रतिष्ठानको जग्गा माफियालाई दिने गर्ने चलखेल सुरु भएको आरोप लगाए।

कार्कीले सङ्घीय सरकारले कुनै पनि भेला, बैठक, समारोह र जात्रा मनाउन बन्देज लगाएका बेला प्रतिष्ठानको सिनेटको बैठक काठमाडौंमा बोलाएर स्वास्थ्य मन्त्री ढकाल र उपकुलपति गिरीले प्रतिष्ठानको चलअचल सम्पत्तिमा खेलबाड गरिरहेको प्रतिक्रिया दिए।

उनले प्रतिष्ठानको स्वामित्वमा रहेको धरानको छाता चौकस्थित पुरानो अस्पतालको जग्गा स्थानीय सरकार र सरोकारवालासँग समन्वय नगरी माफियालाई दिन लागिएको भन्दै आपत्ति प्रकट गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell