PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

नोबेल अस्पतालका थप एक स्वास्थ्यकर्मीलाई कोरोना, अस्पतालका १० जनामा संक्रमण पुष्टि



फूलमाया पुरी

नोबेल अस्पतालका थप एक स्वास्थ्यकर्मीलाई कोरोना, अस्पतालका १० जनामा संक्रमण पुष्टि

विराटनगर: विराटनगरस्थित नोबेल मेडिकल कलेज विराटनगरमा थप एक जनामा कोरोना(कोभिड-१९) संक्रमण देखिएको छ।

शनिवार एक स्टाफ नर्सको संक्रमण पुष्टि भएसँगै अस्पतालमा संक्रमितको संख्या १० जना पुगेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

दाहालका अनुसार अस्पतालका ४ चिकित्सक, ३ स्टाफ नर्स कोरोना संक्रमित भएका छन्। त्यस्तै २ जना अस्पतालकै फार्मेसीका कर्मचारी र एक जना अस्पताल कर्मचारी संक्रमित भएको उनले बताए।

दुइ चिकित्सकको स्वास्थ्य अवस्था गम्भीर भएकाले काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ। अन्य संक्रमित सबैमा पनि कोरोना भाइरसको लक्षण देखिएको दाहालको भनाइ छ।

‘टिचिङमा उपचार गराइरहनुभएका दुइ चिकित्समध्ये एक जनाको प्लाज्मा थेरापीबाट उपचार गरिएको छ,’ उनले भने, ‘अन्य संक्रमण देखिएकाहरुमा रुघाखोकी र ज्वरो देखिएको छ।’ हाल अस्पतालकै आइसोलेसनमा दुइ चिकित्सकसहित ८ जना कर्मचारीको उपचार भइरहेको पनि उनले जानकारी दिए।

अस्पतालमा पहिलोपटक गत २४ गते दुइ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यसपछि अस्पतालले आकस्मिक सेवाबाहेका ओपीडी लगायतका सबै सेवा बन्द गरी आफ्ना कर्मचारीहरुको स्वाब संकलन गरेको अस्पतालका निर्देशक राजेश नेपालले बताए।

गत २५ गते ३६ जनाको स्वाब परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पोजेटिभ भएको अस्पतालका निर्देशक राजेश नेपालले बताए।

नेपालका अनुसार गत २५ गते ३७ जनाको स्वाब परीक्षण गर्दा ४ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो।

त्यसैगरी २६ गते संक्रमित स्वास्थ्यकर्मीहरुका प्रत्यक्ष सम्पर्कमा आएका ७० जनाको स्वाब संकलन गरेको थियो। अस्पताल आफैले स्वाब संकलन गरी प्रदेश प्रयोगशालमा परीक्षणका लागि पठाइरहेको छ।

विराटनगरका सबैजसो ठूला अस्पतालमा कोरोना संक्रमण देखिएकाले यसलाई रोक्न अब प्रदेश सरकारको योजना के छ? भन्ने प्रश्न खडा भएको पनि उनले बताए।

करिब एक हजार ६ सय कर्मचारी भएको नोबेल अस्पतालमा हालसम्म दुई सय २४ जनाको स्वाब संकलन र परीक्षण गरिएको प्रबन्धक दाहालले जानकारी दिए।

कन्ट्याक्ट् ट्रेसिङ र स्वाब संकलन निरन्तर भइरहेको उनले बताए।

‘हिँजोमात्र एक सय ३३ जनाको स्वाब संकलन गरेका छौं। त्यसको रिपोर्ट आउन बाँकी छ,’ दाहालले भने।

त्यसो त नोबेल अस्पतालमा पीसीआर मेसिन राखिने भएको छ। अस्पतालमा पीसीआर ल्याउने प्रकृया अगाडि बढिसकेको पनि प्रबन्धक दाहालले जानकारी दिए।

नोबेल अस्पताल आफैले नभइ छुट्टै टीमले पीसीआर मेसिन राख्न लागेको उनले बताए।

‘अस्पतालभन्दा छुट्टै टीमले पीसीआर मेसिन ल्याएर कोरोना परीक्षण प्रयोगशाला चलाउने प्रकृया अगाडि बढिसकेको छ,’ दाहालले भने, 'अस्पतालले ल्याबका लागि आवश्यक समन्वय र सहकार्य गर्ने
छ।’

त्यसो त विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले पनि संक्रमण समुदायमा फैलिइसकेकाले परीक्षणको दायरा व्यापक बनाउनुपर्ने बताउँदै आएका छन्।

महानगरपालिकाले दैनिक दुई सय बढीको स्वाब संकलन गरे पनि परीक्षणको रिपोर्ट समयमै आउन नसकेको उनको भनाइ छ।

प्रयोगशालाको अभाव कारण यस्तो भएको उनले बताए।

त्यसैले स्वाब संकलन गरेसँगै परीक्षणको दायरा पनि बढाउनुपर्ने उनको भनाइ थियो। जसका लागि थप प्रयोगशालाका बनाउन विराटनगरकै दुई निजी अस्पतालमा पीसीआर मेसिन राख्ने प्रकृया अघि बढेको उनले बताए।

विराट अस्पताल र नोबेल मेडिकल कलेजलाई पीसीआर ल्याबका लागि प्रकृया अगाडि बढाउन भनेको गत २९ गते विहिवार साँझ महानगरपालिकाले विराटनगरको गरेको पत्रकार सम्मेलनमा प्रमुख पराजुलीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell