कैलाली : सुदूरपश्चिममा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज १५ जनामा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६ सय २९ जनाको कोरोना परीक्षण गरिएकोमा कैलालीका ९ र कञ्चनपुरका ४ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
कैलालीका संक्रमितमा धनगढी उप–महानगरपालिकाका तीन पुरुष र एक महिला गरी चार जना, घोडाघोडी नगरपालिका वडा नम्बर ८ का तीन महिला, गोदावरी नगरपालिका वडा नम्वर १० का एक महिला र एक पुरुष गरी दुई जना रहेका छन्।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० का दुई महिला र एक पुरुष गरी तीन जना र बेल्डाँडी गाउँपालिका वडा नम्बर ४ का एक पुरुषमा संक्रमण देखिएको छ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज दुई जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा दुई सय २६ जनाको परीक्षण गरिएकोमा दुई जनाको रिपोर्ट पोजिटिभ आएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुसालले बताए।
उनका अनुसार डडेल्धुराको अमगरगढी नगरपालिका वडा नम्बर ६ की २३ वर्षीया युवती र बझाङको जयपुथ्वी नगरपालिका वडा नम्बर ५ का १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ९४ पुगेको छ।