PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

कर्णालीमा पुनः उकालो लाग्दै संक्रमणको दर, ‘इपिसेन्टर’ बन्ने खतरामा वीरेन्द्रनगर



पी बी खड्का

कर्णालीमा पुनः उकालो लाग्दै संक्रमणको दर, ‘इपिसेन्टर’ बन्ने खतरामा वीरेन्द्रनगर

सुर्खेत : कोरोना भाइरसका सक्रिय संक्रमित सय भन्दा तल झरेको कर्णालीमा संक्रमितको संख्या फेरि उकालो लाग्न थालेको छ। पछिल्लो पाँच दिनको अवधिमा संक्रमितको संख्या बढेर डेढ सय नजिक पुगेको छ।

साउन २५ गतेसम्म ७४ जना संक्रमित रहेको कर्णाली प्रदेशमा अहिले एक सय ४६ पुगेको छ। पहिलो चरणको संक्रमणको दर घट्दो क्रममा रहेपनि पछिल्लो समय पुनः बढ्दो क्रममा देखिएको छ। संक्रमित निको भएर फर्किनेको संख्या भन्दा थपिनेको संख्या बढी छ।

साउन २५ गते ९ जना थपिए भने २६ गते २४ जनामा संक्रमण पुष्टि भयो। त्यस्तै, २७ गते मात्रै ८ जनामा देखिएको संक्रमण २८ गते बिहान मात्रै १९ जनामा संक्रमण पुष्टि हुँदा दिउँसो थप १७ जनामा संक्रमण पुष्टि भयो। जसमध्ये एकै दिन वीरेन्द्रनगरका मात्रै ३६ जना संक्रमित थपिए।

२९ गते पनि १८ जनामा संक्रमण पुष्टि भएका मध्ये एक जना बाहेक सबै वीरेन्द्रनगरका हुन्। पछिल्लो एक साताको बीचमा प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाका संक्रमण पुष्टि नभएको दिन छैन। संक्रमितको दरले वीरेन्द्रनगर उच्च जोखिममा देखिन्छ।

संक्रमितको दर बढेको हेर्दा प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका ‘रेड जोन’ अर्थात प्रदेशको ‘इपिसेन्टर’ बन्ने खतरा बढेको छ।

वीरेन्द्रनगरमा पछिल्लो समय संक्रमण पुष्टि भएकाहरुमध्ये २५ प्रतिशत कुनै पनि संक्रमितको सम्पर्कमा र कन्ट्याक्ट ट्रेसिङमा नभएका हुन्। अर्थात समुदायस्तरका समेत देखिन शुरु भइसकेको अनुमान गरिएको छ।

‘पछिल्लो समय वीरेन्द्रनगरमा संक्रमितको दर बढिरहेको छ’, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्ले भन्छन्, ‘अहिले नै समुदायस्तरमा पुगेको भन्न मिल्ने अवस्था छैन। अन्य जिल्ला र प्रदेशबाट आएका र विदेशबाट आएकाहरुमा पनि संक्रमण देखिएको छ।’

उनले थपे, ‘यसरी अन्यत्रबाट आएकाहरुलाई बेलैमा सम्पर्क गरी परीक्षण गराउन सकिएन भने समुदायस्तरमा संक्रमण फैलिने खतरा भने छ।’

अन्य जिल्ला, प्रदेश र विदेशबाट आएका नागरिकहरुलाई समेत लुकीछिपी नबसेर स्वास्थ्यकर्मीसम्म सम्पर्कमा आउन कार्यालयको आग्रह छ। प्रदेशको मुख्य नाका भएकाले पनि थप जोखिम भने कायम रहेको प्रमुख वाग्लेको भनाइ छ।

‘प्रदेश आउने जाने मुख्य नाका पनि सुर्खेत, त्यसमा पनि वीरेन्द्रनगर राजधानी भएकाले पनि जोखिम कायमै छ’, उनले भने, ‘अब चाडपर्व पनि नजिकिँदै गर्दा थप मान्छेको चहलपहल बढ्ने र भिडभाड बढ्ने हुँदा स्वयं सर्वसाधारण नागरिक पनि सचेत बन्नुपर्ने हुन्छ।’

वीरेन्द्रनगरमा मात्रै झण्डै दुई सयको हाराहारीमा संक्रमितको संख्या पुगेको छ। संक्रमित हुनेहरुमा भारत तथा तेस्रो मुलुकबाट आएका, व्यापारी, सवारी चालक, सैलुन व्यवसायी लगायत अन्य मजदुरहरुमा समेत संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य सुरक्षाको सावधानी अपनाउने र सामग्री प्रयोग गर्न समेत उनले जोड दिएका छन्। वीरेन्द्रनगर प्रदेशको राजधानी भएकाले पनि काम गर्ने मजदुर, व्यापारी लगायत आउने जाने हुँदा थप जोखिम बढेको स्वास्थ्यकर्मीको भनाइ छ।

संक्रमणको खतरा बढ्दै गएकाले वीरेन्द्रनगर पालिकाले भदौ ५ गतेसम्मका लागि कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गरेको छ। नगरपालिकाको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले साउन ३१ गतेदेखि नगरपालिका मातहत रहेका सम्पूर्ण वडा कार्यालयमार्फत प्रवाह हुने सेवा बन्द गर्ने निर्णय यसअघिनै गरिसकेको छ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय सुर्खेतले समेत संक्रमणको दर बढेकाले भदौ १ गतेदेखि पाँच गतेसम्म निषेधाज्ञा गर्ने जनाएको छ। अत्यावश्यक र निर्माण योजनाहरु बाहेक अन्य क्षेत्र पूर्णरुपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

विज्ञप्ति अनुसार स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दुध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, तरकारी जस्ता अत्यावश्यक सेवा तथा व्यवसाय बाहेक सबै बन्द हुने भएको छ।

त्यस्तै, धार्मिक, साँस्कृतिक, सामाजिक लगायत कुनै पनि कार्यमा १५ जना भन्दा बढीको जमघट तथा भेला नहुन समेत आग्रह गरेको छ।

एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाल सवारी, सुरक्षा, स्वास्थ्य र कुटनीतिक नियोगका सवारी साधनहरु एवं प्रेस र सञ्चारकर्मीका सवारी साधनहरु र अत्यावश्यक सेवा सञ्चालनमा प्रयोग हुने सवारीहरु भने निर्वाध चल्ने छन्।

वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रका होटल तथा रेस्टुरेन्ट समेत भदौ १ गतेदेखि पूर्णरुपमा बन्द गर्न लागिएको छ।

प्रदेश सरकारले समेत प्रदेशको राजधानी वीरेन्द्रनगरमा संक्रमणको दर बढ्दै गएकाले दोस्रो चरणको कोरोना रोकथाम तथा नियन्त्रण गर्न आवश्यक योजनासहित अघि बढेको जनाएको छ। प्रदेश सरकारले भदौ १ गतेदेखि कर्णाली प्रदेश प्रवेश गर्न समेत पीसीआर रिपोर्ट अनिवार्य गर्ने भएको छ।

प्रदेश प्रवेश गर्नेले कम्तीमा तीन दिनअघिको पीसीआर रिपोर्ट साथमा ल्याउनुपर्ने छ। प्रदेशको मुख्य नाका सुर्खेतको बबई, कुईने र सल्यान कालीमाटी, काल्चे, कपूरकोट नाका हुँदै प्रवेश गर्ने सबैले अनिवार्य पीसीआर रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरेको छ।

त्यस्तै, प्रदेश सरकारले आवश्यक स्वास्थ्य पूर्वाधार थप गर्ने तयारी समेत गरेको छ। अहिले भइरहेको पूर्वाधार पर्याप्त नहुने देखिएपछि प्रदेश सरकारले आइसीयू र भेन्टिलेटर थप गर्ने तयारी भइरहेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell