PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गोंगबु प्रकरणले सम्झाएको ख्याती हत्या : भेटियो तन्त्रविद्याको नोटबुक, हिप्नोटाइजमा कल्पनाको चासो



सविन ढकाल

गोंगबु प्रकरणले सम्झाएको ख्याती हत्या : भेटियो तन्त्रविद्याको नोटबुक, हिप्नोटाइजमा कल्पनाको चासो

काठमाडौं : गएको ६ दिनदेखि कल्पना मुडभरी (पौडेल) प्रहरी हिरासतमा छिन्। महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा कैद छिन् उनी। उनले गरेका अपराधको सजाय प्रहरी नियन्त्रणमा रहेकी १५ वर्षीया छोरीलेमात्र होइन प्रहरीको घेराबाट बाहिर रहेका १२ वर्षीय अबोध छोराले पनि खेपिरहेका छन्।

१२ वर्षीय छोरा आमासँग छुट्टिँदा न्यास्रिएका छन्। केही समय मानव सेवा आश्रमले आश्रय दिएका बालकलाई अहिले उनका आफन्तले लगेका छन्। यता प्रहरीको अनुसन्धान टोली हत्याको कारण खोज्न लागिरहेको छ। पछिल्लो केही दिन यता कल्पनाले भने आफ्नो बयान फेरेकी छिन्। सुरुमा आर्थिक लेनदेन, प्रहरीले सार्वजनिक गर्दा अश्लिल तस्विर सामाजिक सञ्जालमा हाल्नुलाई हत्याको कारण बताएकी थिइन् उनले। तर, अहिले आफू र छोरीको बलात्कार प्रयास भएको बयान दिन थालेकी छिन्।

छोरीमाथि जाइलागेपछि सहन नसकेर हत्या गरेको उनको पछिल्लो बयान छ। प्रहरी उनको बयान, घटनाको प्रकृति र अन्य सबुतलाई हेरेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारीमा छ। हत्याको कारण जे भए पनि एउटा यति विभत्स हत्यामा कोही किन उत्रिन्छ भन्ने प्रश्न धेरैले गरिरहेका छन्।

रुन्तीगढी गाउँपालिका वडा नम्बर ७, रोल्पा घर भएका ४५ वर्षीय कृष्णबहादुर बोहोरा साउन २४ गते टोखा नगरपालिका वडा नम्बर १० स्थित पौडेलको कोठामा गएका थिए। उनी होटलमा बस्न थालेकै ८ महिना भइसकेको थियो। बेलाबेलामा कल्पनाको कोठामा भने पुगिरहन्थे। त्यही क्रममा शनिवार पनि उनी कोठामा पुगेका थिए।

कल्पनासँगै १५ वर्षीय छोरी र एक नाबालक छोरा पनि थिए। बोहरालाई कल्पनाले दही, च्युरा, मासु र भोड्का खान दिइन्। यतिसम्म अवस्था सामान्य नै थियो। तर, त्यसपछिको परिस्थिति जे बन्यो त्यसले एक कल्पना गर्नै कठिन हत्याको घटना घट्यो। बोहोरा मारिए, कल्पनाको हातबाट।

सोझो आक्रमण गरेर कल्पनाले कृष्णबहादुरलाई मार्न सहज थिएन। त्यसैले कल्पनाले दहीमा 'स्लिपिङ ट्याब्लेट' मिसाएर कृष्णलाई खान दिइन्। त्यसपछि उनी लठ्ठिँदै गए। कल्पनाले फलामको हम्बरले कृष्णको अण्डकोषमा हानिन्। त्यत्तिमै उनलाई विश्वास लागेन - मर्‍यो भन्ने। त्यसपछि आफ्नो सल उनको घाँटीमा कसिन्। घटना रातिको करिव ९ बजेतिरको थियो।

कल्पनाको रिस यतिमा मरेको थिएन। त्यसपछि शव टुक्र्याउन थालिन्। कृष्णबहादुरलाई मारिसकेपछि उनीसामु शव व्यवस्थापन चुनौतीका रुपमा खडा भएपछि यो उपाय लगाएकी हुन्। आवाज निस्किने डरले हुनुपर्छ, उनले छोराछोरीलाई अलग्गै कोठामा राखेर ट्वाइलेटको ढोकाको बिटमा कृष्णबहादुरलाई रेट्दै काटेकी थिइन्। खुट्टा र टाउको छिनालेर 'जेब्रा' झोलामा प्याक गरिन्। अनि नजिकै लगेर फ्याँकिन्।

शव व्यवस्थापन गर्नको लागि असहज भएर नै उनले शवलाई टुक्रा टुक्रा परिन् वा रिस मार्न? उनले शव  काटेको  प्रकृति हेर्दा निकै प्रोफेसनल किसिमको देखिएको प्रहरीले जानकारी दिएको छ।

'रिस मेट्नका लागि अपराधीले यसरी काट्छ। कि त शवको पहिचान गर्न नसकियोस् भन्ने नि हुन्छ,' पूर्व डीआइजी हेमन्त मल्ल ठकुरीले भने।

कल्पनाको केसमा शवको पहिचान लुकाउन टुक्राटुक्रा पारेको देखिँदैन। किनकी उनले फ्याँलेको शवको स्थान डेराबाट १ सय मिटरको दुरीमा छ। त्यस्तै टाउको, खुट्टा र जीउको दुरी पनि ३ सय मिटरमा नै देखिएको छ।

कल्पनालाई मानिसको शरीर टुक्रा पार्ने साहस कसरी आयो?

प्रहरीले उनको कोठामा खानतलासी गर्दा तान्त्रिक विद्याबारे लेखिएको कापी समेत फेला पारेको छ। उनले विभिन्न तान्त्रिक विद्याको जानकारी राख्न खोजेको समेत देखिएको छ। उनले हिप्नोटाइज कसरी गर्ने भन्ने विषयमा समेत रुची राखेको उनको कोठामा पाएको कागजले देखाएको छ।

'केही कपी छन् जहाँ हिप्नोटाइज र अन्य तान्त्रिक गुरुको कुराहरु लेखिएका छन्,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए।

के कल्पनाले हिप्नोटाइज गरिन्? अनि त्यसपछि टुक्रा टुक्रा पारियो त?

त्यसो त उनले बयानमा बोहोराले छोरीलाई दुर्व्यवहार गरेपछि आफूले सहन नसकेर ज्यानमा देवी चढेको समेत बताएकी छिन्। बोहराको हत्याले १२ वर्ष अघिको ख्याती हत्या प्रकरणको झल्को दिएको छ।

२०६६ जेठ २२ मा अनामनगर बस्ने १९ वर्षकी ख्याती श्रेष्ठ हराइन्। त्यसपछि उनको अपहरण गरेको भन्दै अहरणकारीले फोन गरेर परिवारसँग फिरौती रकम मागे। अपहरण भएको १७ दिनपछि प्रहरीले विरेन श्रेष्ठलाई सोह्रखुट्टेबाट पक्राउ गर्‍यो। पक्राउपछि श्रेष्ठले पुतलीसडकबाट ख्यातीलाई सोही दिन आफ्नो खुसिंबुको कोठामा लगि कफीमा बेहोस हुने औषधि हालेर खुवाई रडले टाउकोमा हानी हत्या गरेको खुलेको थियो।

घटनामा वीरेनकै १६ वर्षीया छात्रा मेरिना शाक्य पनि मुछिन्। उनीहरु अहिले कैद भुक्तान गरिरहेका छन्। ख्यातीको शरीरका भाग ललितपुरको बुङमति, काठमाडौं र चितवनमा फेला परेका थिए। उनले शरीरलाई टुक्रा टुक्रा बनाएर तीन जिल्ला पुर्‍याएर फालेका थिए।

'विरेन आफैंमा विज्ञान सम्वन्धि जानकारी भएको व्यक्ति हो। उसले धेरै मेहनत गरेर शबलाई टुक्रा टुक्रा गरेको देखिएको थियो,' त्यतिखेर अनुसन्धानमा खटिएका डीएसपी हृदयस थापाले भने।

विरेनले शवको पहिचान लुगाउनको लागि टुक्राटुक्रा पारेका थिए। उनी चिकित्सशास्त्रको समेत जानकार भएकाले शवलाई सहजै टुक्रा पारेका थिए। उनले केही दिनसम्म शवबाट छुट्याएको टाउको फ्रिजमा राखेर जोगाएका थिए।

तर, कल्पनाको हकमा भने केही फरक छ। महिला एक्लैले शव काटेर फ्याँक्ने सम्भावना कम हुने भन्दै अन्य मानिसको संलग्नता हुनसक्ने प्रहरीको आँकलन थियो। त्यही शंकाको आधारमा अनुसन्धान नगरेको पनि होइन। तर, अहिलेसम्म अन्य व्यक्तिको संलग्नता देखिएको छैन। कल्पनालाई काठमाडौंबाट चितवन पुर्‍याउन प्रयोग भएको एम्बुलेन्सका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

उनले ६ हजार रुपैयाँ लिएर चितवन पुर्‍याएको र घटनाको जानकारी नभएको खुलेपछि उनलाई छाडिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell