दक्षिण अफ्रिकामा कोभिड-१९ संक्रमण दर घट्न थाले पछि त्यहाँ जारी प्रतिबन्ध केही खुकुलो हुने भएको छ। त्यहाँका राष्ट्रपति साइरिल रामफोसाले सोमवारदेखि प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेका हुन्।
रक्सी र चुरोटमा लागेको विवादित प्रतिबन्ध पनि खुल्ने भएको छ। आन्तरिक यात्रा, पारिवारिक जमघटका लागि अनुमति दिइने छ र व्यवसायहरू पुन: खुल्नेछन्।
राष्ट्रपतिले टिभीमार्फत् सम्बोधन गर्दै दक्षिण अफ्रिकामा कोरोना संक्रमणको सबैभन्दा खराब अवस्था बितिसकेको र अब अवस्था राम्रो हुँदै जाने आशा व्यक्त गरेका छन्। उनले देशको अर्थतन्त्रलाई ध्यानमा राख्दै उक्त निर्णय गरेको बताएका हुन्।
अन्तर्राष्ट्रिय यात्रा भने अझै पनि ठप्प रहने छ। साइरिलले जनतालई कोभिड-१९ विरुद्ध निराश नभइ लड्न आग्रह गरेका छन्।
अफ्रिकाको कुल संक्रमणमध्य आधा दक्षिण अफ्रिकामा छन्। त्यहाँ हालसम्म ५ लाख ७० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। संक्रमणकै कारण ११ हजार ५ सय जनाको मृत्यु भइसकेको छ।
