रसियाले पहिलो चरणको कोभिड-१९ विरुद्धको भ्याक्सिन उत्पादन पूरा गरेको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले उक्त जानकारी दिएको हो। गत साता रसियाली राष्ट्रपति भ्लादिमीर पुटिनले विश्वभर महामारी बनेर फैलिएको कोभिड-१९ विरुद्ध पहिलो भ्याक्सिन आफ्नो देशले बनाएको घोषणा गरेका थिए।
पुटिनले उक्त भ्याक्सिन सुरक्षित भएको र आफ्नै छोरीको शरीरमा त्यसको परीक्षण गरेको बताएका थिए। विश्वभरका वैज्ञानिक एवं विश्व स्वास्थ्य संगठनले भने उक्त भ्याक्सिन कति सुरक्षित छ भन्ने बारे समीक्षा आवश्यक रहेको बताइरहेका छन्। केहीले भने रसियाले राष्ट्रिय गौरवलाई स्वास्थ्य र सुरक्षाभन्दा बढी प्राथमिकता दिएको आरोप लगाएका छन्।
भ्याक्सिनको तेस्रो चरणको परीक्षण बाँकी छ जुन दुई हजारभन्दा बढी मानिसमा हुनेछ। रसियाले यसै महिनाको अन्तिमसम्ममा भ्याक्सिन बजारमा आउने बताइएको छ जुन कोरोना भाइरसविरुद्धको पहिलो भ्याक्सिन बन्नेछ।
रसियाले भ्याक्सिनको नाम स्पुतनिक-५ राखेको छ। स्पुतनिक अन्तरिक्षमा जाने पहिलो उपग्रह थियो जसलाई रसियाले लञ्च गरेको थियो।
मस्कोको गामेलाय इन्स्टीच्यूटले बनाएको यस भ्याक्सिन डिसेम्बर वा जनवरीसम्ममा प्रत्येक महिना पचास लाख वटा बन्ने जनाइएको छ।
रसिया संक्रमणका कारण सर्वाधिक प्रभावित देशमध्ये एक देश हो। त्यहाँ ९ लाख १७ हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टि भइसकेको छ। हाल ९२ हजार संक्रमित उपचाररत् छन् र २ हजार ९ सय मानिसको अवस्था गम्भिर छ।
