PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कोभिड-१९ का कारण विदेशी भूमिमा १९१ जनाको मृत्यु, ७६ शव विदेशमै अलपत्र



पहिलोपोस्ट

कोभिड-१९ का कारण विदेशी भूमिमा १९१ जनाको मृत्यु, ७६ शव विदेशमै अलपत्र
पशुपतिमा संक्रमितको अन्त्यष्टि गरिँदै। फाइल फोटो

काठमाडौं : कोभिड-१९ को संक्रमणबाट नेपालबाहिर १ सय ९१ जनाको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को तथ्यांकमा नेपालसहित विश्वभरत २ सय ९३ जना नेपालीको मृत्यु भएको  उल्लेख छ। नेपालमा कोभिड-१९ को संक्रमणको कारण १ सय २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

हाल विश्वभर ३८ देशमा नेपालीहरुमा संक्रमण पुष्टि भएको छ। हालसम्म नेपालसहित ५९ हजार ४ सय ११ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। संक्रमित मध्ये ४८ हजार ५ सय ४ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाले जानकारी दिए।

पछिल्लो केही साता विदेशमा संक्रमित हुने नेपालीहरुको संख्या न्युन रहेको छ। त्यस्तै, यस साता विदेशी भूमिमा कोही पनि नेपालीको मृत्यु नभएको एनआरएनएको कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन्।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायतका देशमा रहेका नेपालीहरुको मृत्यु भएको छ।

यसबीच ५१ हजार ४ सय ४१ जना नेपाली स्वदेश फर्किएका छन्। गैर आवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा विभिन्न ३० मुलुकमा भएको ३ सय २७ उडानमार्फत् आफ्नै खर्चमा नेपालीहरु स्वदेश फर्किएका हुन्।

सरकारले गरेको दैनिक रुपमा अधिकतम् ५ सय जनासम्मलाई मात्रै उद्धार गरेर विदेशबाट ल्याउने निर्णयले विदेशमा अलपत्र र समस्यामा परेको एनआरएनले जनाएको छ। नेपाली कामदार लगायत अन्य विविध प्रयोजनले विदेश गएका तर उतै रोकिएका नेपालीको उद्धारमा थप ढिलाई भएको उसले जनाएको छ।

संघ अन्तर्गतको वैदेशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीका अनुसार मध्यपूर्वमा हजारौंको संख्यामा रहेका अलपत्र नेपाली, भिसा अवधि सकिएका तथा महामारीका कारण अन्य विभिन्न समस्यामा परेका नेपालीहरु सरकारी निर्णयले प्रभावित भएका छन्।

यसले खाडी मुलुकमा अलपत्र नेपालीहरु प्रभावित हुने उनले बताए।

यसअघि सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३ सय र वैदेशिक रोजागर कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी २ सय जना गरेर जम्मा ५ सय जनालाई मात्रै उद्धार गर्ने जनाएको थियो।

यसैबीच विभिन्न कारणले मृत्यु भएका ४ सय ९४ जना मध्ये २ सय ४६ जनाको शव नेपाल नेपाल ल्याइएको छ। त्यस्तै १ सय ७२ जना नेपालीको मृत्यु भएकै देशमा अन्तेष्टि गर्न परिवारबाट सहमित प्राप्त भएसँगै उतै व्यवस्थापन गरिएको छ। त्यस्तै, अझै ७६ शव नेपाल ल्याउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell