काठमाडौं : जुगल गाउँपालिका–२ लिदीमा शुक्रवार बिहान खसेको पहिरोमा परी हराइरहेकामध्ये थप एक जनाको शव भेटिएको छ। यससँगै पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १९ पुगेको छ। नेपाली सेनाले अहिलेसम्म १९ जनाको शव भेटिएको र बाँकी हराएकाहरुको खोजी कार्य भइरहेको जनाएको छ।
नेपाली सेनाको श्री गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय बासिन्दा लगायत अन्य निकायको सहयोगमा हालसम्म चार जना महिला, तीन जना पुरुष, पाँच जना बालिका र सात जना बालकको शव फेला पारेको सेनाले जानकारी दिएको छ।
पहिरोमा परी हराइरहेका २० जनाको खोजी कार्य जारी राखेको छ। शुक्रवार बिहान ११ जनाको शव भेटिएको थियो। यस्तै शनिवार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।
प्रहरीका अनुसार शनिवार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सातमहिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो।
लिदीमा शुक्रवार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए। घरसँगै ३९ जना बेपत्ता भएका थिए।
