PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रचण्ड पक्षधर नेता नै उनीसँग असन्तुष्ट, विधि मिचिएको भन्दै चर्को आलोचना



प्रकाश भण्डारी

प्रचण्ड पक्षधर नेता नै उनीसँग असन्तुष्ट, विधि मिचिएको भन्दै चर्को आलोचना

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीले विवाद समाधानका लागि कार्यदल गठन गरे पनि प्रचण्ड समूहका शीर्ष नेताहरुले भने असन्तुष्टि जनाएका छन्।

प्रचण्डबाहेकका नेताहरुले कार्यदलको गठन प्रक्रिया विधिसम्मत नभएको भन्दै असन्तुष्टि जनाएका हुन्। कार्यदल गठनपछि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताले प्रचण्डलाई भेटेर शनिवार असन्तुष्टि जनाएका थिए।

प्रचण्डले नै पार्टीको विधि पद्धति मिचेको उनीहरुको आरोप छ। स्थायी कमिटी सदस्य बेदुराम भुषालले पद्धतिकै लागि लडाइ गरेको भए पनि अहिले कार्यदल पार्टीको विधान विपरीत गठन गरिएको बताए। उनले पार्टी कमिटी बाहेकका निर्णयलाई पार्टीले नचिन्ने तर्क गरे।

'यो त अध्यक्षहरुले कसैलाई केही काममा लगाउनुभएको जस्तो भयो। कमिटीबाट अनुमोदन नभएकालाई पार्टीको विधान सम्मत भएको मान्न सकिँदैन,' उनले भने, 'विधि पद्धतिकै लागि लडेर आफैँ कुल्चने जस्तो भयो।'

भुषालले कार्यदल गठन गर्नु सकारात्मक भए पनि प्रक्रिया नपुर्‍याएर दुई अध्यक्षले मात्रै गठन गर्नु आश्चर्यको विषय भएको बताए। यद्यपि, कार्यदललाई विधी पद्धतिसम्मत बनाउने बाटो भने बन्द भएको छैन। फेरि पनि सचिवालय बैठकमा प्रस्ताव लिएर कार्यदललाई अनुमोदन गरिए विधान सम्मत नै हुने भुषालको भनाई छ। तर, उनले अहिलेसम्म ओली-प्रचण्डको ध्यान कार्यदललाई अनुमोदन गराउनेतर्फ नगएको आरोप लगाए। अनुमोदन नगराइ कार्यदलले गर्ने काम मान्ने नहुने उनको तर्क छ। 'कुनै नेतालाई केही कामको जिम्मा दिएको हो भने त्यसलाई पार्टीले मान्नुपर्छ भन्ने छैन्,' उनले भने।

तर नेकपाका केन्द्रीय सदस्य तथा प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षले निर्णय गरी कार्यदल गठन गर्नु विधानसम्मत नै भएको दाबी गरे। थापाले यसअघिका अभ्यास पनि दुई अध्यक्षका निर्णय विधानसम्मत मान्ने गरिएको बताए। कार्यदल सचिवालय वा स्थायी कमिटी बैठकबाट गठन गर्नुपर्ने बाध्यता नभएको उनको तर्क छ। 'दुई अध्यक्षले निर्णय गर्नुभयो। यो विधानसम्मत नै हो। अब काम नै सुरु भइसकेको छ,' उनले भने।

कार्यदललाई तत्कालै सचिवालय वा अन्य कमिटीबाट अनुमोदन नगरिने थापाको भनाई छ। कार्यदलले प्रस्ताव तयार पार्ने र कमिटी बैठकमा प्रस्तुत भएर निर्णय गर्ने प्रक्रिया अनुसार काम भइरहेको थापाले जानकारी दिए।

शनिवार सामान्य छलफल मात्रै गरेको कार्यदलले आइतवार भने विषयवस्तुमा प्रवेश गरेको छ। नेपाल समूहका नेताका असन्तुष्टिका कारण कार्यदलको कर्यादेशबारे भने अन्यौल भइरहेको छ।

नेकपाको विवाद समाधानका लागि भन्दै ओली-प्रचण्डले साउन ३० गते ६ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेका थिए। महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलमा ओली, प्रचण्ड र नेपालका तीन/तीन जना नेताहरु सहभागी छन्। ओलीका तर्फबाट पौडेल र शंकर पोख्रेल सदस्य छन् भने प्रचण्ड पक्षबाट पम्फा भुषाल र जनार्दन शर्मा सदस्य छन्। नेपालका तर्फबाट कार्यदलमा सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेका छन्।

प्रधामन्त्रीको राजिनामा मागेर चर्किएको नेकपाको विवाद कार्यदल गठनपछि केही मत्थर भएको छ। असार १० बाट सुरु भएको स्थायी कमिटी बैठक पार्टी विवादका कारण बस्न सकिरहेको छैन। अर्ली महाधिवेशन गरेर प्रचण्डलाई अध्यक्षमा सघाउने ओली समूहको प्रस्तावलाई प्रचण्ड-नेपाल समूहले अस्वीकार गरेको थियो। कार्यदलले ओली दुवै पदमा कायम रहने तर महाधिवेशन कमिटीको नेतृत्व प्रचण्डले गर्ने गरी प्रस्ताव तयार पार्ने बताइएको छ। तर, कार्यदल गठनपछि भने प्रचण्ड-नेपाल समूहमा विश्वासको संकट पैदा भएको नेताहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell