काठमाडौं : देशमा कोरोना संक्रमितको सङख्या थपिँदै जाँदा ड्युटीमा खटिएका प्रहरी समेत संक्रमित देखिन थालेका छन्। पछिल्लो समय प्रहरीभित्र ह्वात्तै संक्रमणको दर बढेको छ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीमा समेत कोरोना देखिसकेको छ। जवानदेखि प्रहरी नायव महानिरीक्षक (डीआइजी)लाई कोरोना संक्रमण देखिएको छ। प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई डीआइजीमा कोरोना पोजेटिभ देखिएको हो।
अहिलेसम्म नेपाल प्रहरीमा ६ सय २० जनामा कोरोना देखिसकेको छ। जसमध्ये ३ सय ८० जना उपचाररत रहेका छन्। २ सय ४० जना उपचारपछि काममा फर्किसकेका छन्।
प्रहरी प्रधान कार्यालय नक्सालमा मात्र १ सय ५५ जना प्रहरीमा कोरोना पोजेटिभ देखिएकाले उपचार गराइरहेका छन्। यो सङ्ख्या प्रहरी अस्पतालमा कार्यरत संक्रमित प्रहरीको समेत हो।
त्यस्तै, सबैभन्दा धेरै पाँच नम्बर प्रदेशमा कार्यरत प्रहरी कोरोनाबाट संक्रमित भएका छन्। अहिलेसम्म पाँच नम्बर प्रदेशमा ५२ जना प्रहरी संक्रमित प्रहरीको उपचार भइरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेरबहादुर कडायतले जानकारी दिए।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरी अन्तर्गत ३० जनामा कोरोनाको उपचार गराइरहेका छन्। पछिल्लो समय कार्यालयमा कार्यरत नाईलाई समेत कोरोना देखिएको थियो। त्यस्तै महाशाखामा १७ जना ट्राफिक प्रहरीमा कोरोना देखिएको थियो। दुई जना उपचारपछि फर्किसकेका छन्।
महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरीमा कोरोना देखिएपछि केही साताको लागि सिल गरिएको थियो। कालीमाटी काठमाडौंमा पहिलोपटक प्रहरीमा संक्रमण देखिएको हो।
त्यस्तै, अहिलेसम्म एक नम्बर प्रदेशमा २३ जनामा कोरोना देखिएकाले अझैं उपचार भइरहेको एसएसपी कडायतले जानकारी दिए। एक नम्बर प्रदेश प्रहरी कार्यालय,विराटनगरमा कार्यरत १९ जना प्रहरीलाई एकैचोटी कोरोना देखिएको थियो।
दुई नम्बर प्रदेशमा पनि कोरोना संक्रमति प्रहरीको सङ्ख्या मध्ये ४६ जना अस्पतालमा नै रहेका छन्। गण्डकी प्रदेश अन्तर्गत एक जिल्ला प्रहरी प्रमुखलाई नै कोरोना देखियो। अहिलेसम्म २२ जना प्रहरीलाई कोरोना देखिएकाले उपचार भइरहेको छ। बागमति प्रदेशमा ४० जना संक्रमित प्रहरी उपचारत रहेका छन्।
कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने सबैभन्दै कम प्रहरी संक्रमित छन्। कर्णालीमा ७ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित भएका प्रहरीको उचार भइरहेको छ।
