काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा सुनिश्चित भएको बताएका छन्।
श्रेष्ठले आइतवार फेसबुकमा स्टाटसमार्फत पार्टी संकटको निकासका निम्ति कार्यदल गठन भएको पनि बताएका छन्। नेकपाको विवाद सुल्झाउन भन्दै ६ सदस्यीय कार्यदल गठन गरिएको छ।
'हाम्रो पार्टीका दुई अध्यक्षहरुद्वारा पार्टी भित्रका समस्याको समाधान र संकटको निकासका निम्ति गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम शुरु गरिसकेको छ। यसले यो सकारात्मक सन्देश दिइसकेको छ कि हाम्रो पार्टी एकताको रक्षा सुनिश्चित भएको छ,' उनले भनेका छन्।
उनले पार्टी एकताको रक्षाले खुशी बनाएको भन्दै कार्यदलले तात्कालीन रुपमा कोभिड-१९ को नियन्त्रण, उपचार र अर्थतन्त्रको पुननिर्माण र अन्तत: राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक - आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्नेछ उल्लेख गरेका छन्।
त्यसलाई स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपूर्ण छलफल गरी संस्थागत निर्णय गरिने उनको भनाइ छ। उनले यस स्थितिमा कार्यदलको गठनका विषयमा भ्रमात्मक प्रचार गर्नु गलत भएको पनि बताएका छन्।
