PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

गृहमन्त्री थापाले भने : तोकेको नाकाभन्दा बाहिरबाट लुकिछिपी आउनेक्रम जारी



पहिलोपोस्ट

गृहमन्त्री थापाले भने : तोकेको नाकाभन्दा बाहिरबाट लुकिछिपी आउनेक्रम जारी

काठमाडौं : गृह मन्त्री रामबहादुर थापाले पुनः लकडाउन गरेर समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको बताएका छन्।

आइतबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै गृहमन्त्री थापाले लकडाउनका कारण आर्थिक समस्याहरु देखिन थालेपछि सरकारले कोरोना र आर्थिक संकटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको बताएका हुन्।

उनले भने, ‘कोरोना र आर्थिक संकट दुवैलाई हामीले समाधान गर्नुपर्ने भएको हुनाले यसमा तालमेल मिलाएर हामीले गरिराखेका छौं र स्वास्थ्यका मापदण्डहरु अपनाएर उद्योग व्यवसायहरु पनि हामीले सञ्चालन गर्नुपर्ने छ। अरु सुरक्षाका मापदण्ड अपनाएर बन्दाबन्दीलाई पनि निरन्तरता दिनुपर्ने छ। यी दुईवटै कुराहरुलाई हामीले अगाडि बढाइराखेका छौं।’

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भए पनि फेरि संक्रमण बढिरहेकाले सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवश्यक रहेको गृहमन्त्री थापाले बताए।

गृहमन्त्री थपाले सरकारले देशभित्र प्रवेश गर्ने १० वटा नाका तोके पनि अझै पनि लुकिछिपी आउने काम भइरहेको र त्यसको नियन्त्रणका लागि गृह मन्त्रालयले अधिकतम प्रयास गरेको दावी गरिका छन्।

अहिले पनि खुला नाकाहरु नियन्त्रणका लागि १ हजार २ सय भन्दा बढी बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरिएको गृहमन्त्री थापाले बताए। उनले भने, ‘अब हामीले यो खुल्ला नाकाहरुलाई नियन्त्रण गर्नको निमित्त अहिले १२ सय भन्दा बढी बोर्डर आउटपोस्टहरु स्थापना गरिएको छ। त्यसले धेरै हदसम्म नियन्त्रण गरेको छ। त्यही पनि लुकिछिपी आउने केही मात्रामा भइ पनि राखेको छ। यसलाई पूर्ण बन्द गर्ने हाम्रो प्रयास जारी छ। हिजोको जुन अवस्था थियो त्यो चाहिंँ अहिले छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell