PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

उपत्यकामा १७२ जनासहित २४ घण्टामा ३७ जिल्लामा कोभिड-१९ को संक्रमण पुष्टि, कुन जिल्लामा कति?



पहिलोपोस्ट

उपत्यकामा १७२ जनासहित २४ घण्टामा ३७ जिल्लामा कोभिड-१९ को संक्रमण पुष्टि, कुन जिल्लामा कति?

काठमाडौं : काठमाडौं उपत्यकामा थप १७२ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २४७ नमुना परीक्षणका क्रममा आइतवार ६ सय ४१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार ३७ जिल्लामा २१८ महिला र ४२३ पुरुषमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

यससँगै संक्रमित संख्या २६ हजार ६ सय ६० जना पुगेको छ। डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३५ रहेको छ। पछिल्लो २४ घण्टामा १३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा दुई संक्रमितको मृत्यु पुष्टि भएको छ। योसँगै मृत्यु हुनेको संख्या १०४ पुगेको छ।

हाल कुल संक्रमितमध्ये ९ हजार २२१ कोभिड-१९ का एक्टिभ केस रहेका छन्। जसमध्ये ८ हजार ७२४ अस्पताल तथा आइसोलेसन सेन्टरमा छन् भने ४९७ होम आइसोलेसनमा रहेका छन्।

संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका रहेका छन्। काठमाडौं जिल्लाका १२६ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार एपीएफ अस्पतालमा ३, विध ल्याबमा ६, ह्याम्स अस्पतालमा १९, भक्तपुरस्थित नेपाल कोरिया मैत्री अस्पतालमा ४, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १७, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९, सुरिया ल्याब काठमाडौंमा ६, स्टार अस्पतालमा ९, शुक्रराज ट्रपिकल अस्पतालमा २४ र त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा २९ जनासहित काठमाडौंका १२६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, ललितपुरका ३८ र भक्तपुरका ८ जनामा पनि संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं पछि धेरै संक्रमण पुष्टि हुनेमा मोरङ रहेको छ। मोरङमा १०० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, बारामा ६९ र पर्सामा ६४ जनामा संक्रमण पुष्टि हुँदा रुपन्देहीमा ५८ जनामा संक्रमण पुष्‍टि भएको छ।

हालका एक्टिभ केस मध्ये १०० जना विभिन्न प्रदेशका आइसीयूमा रहेको प्रवक्ता गौतमले जानकारी दिए। जसमध्ये प्रदेश २ मा ४१, वाग्मतीमा ४७, गण्डकीमा १, प्रदेश ५ मा ११ जना संक्रमित आइसीयूमा उपचाररत छन् भने वाग्मती प्रदेशमा ६ जना संक्रमितलाई भेन्टिलेटरको सपोर्ट दिइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell