काठमाडौं : नेपाली सेनाका सहायक रथी प्रयोग जबरा (राणा)सहित सैनिक अधिकारी कारवाहीमा परेका छन्।
समरी जनरल सैनिक अदालतले सहायक रथी राणासहित सैनिक अधिकारीलाई सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसुर गरेको अभियोगमा सैनिक ऐन २०६३ अन्तर्गत आइतवार दोषी ठहर गर्दै सैनिक सेवाबाट हटाउने फैसला गरेको हो।
सहायक रथी राणा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्माले पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसुर गरेको अदालतको ठहर छ। उनीहरु सबैलाई सेवाबाट हटाउने फैसला भएको हो।
अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा गर्ने फैसला गरेको छ। त्यसैगरी प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत दिएको छ।
अदालतले महासेनानी राजेन्द्र मणी गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई भने सफाई दिने फैसला गरेको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले आर्थिक अनियमितता र भ्रष्टाचारको विषयमा शून्य सहनशीलता नीतिअनुरुप स्वच्छ संगठन निर्माण एवम् सुदृढिकरणको कार्यमा सेना प्रतिबद्ध रहेको जनाएको छ।
