PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार नाघ्यो, कैलालीमा मात्रै एक हजार बढी



एम बम

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार नाघ्यो, कैलालीमा मात्रै एक हजार बढी

कैलाली : सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ। पछिल्लो २४ घण्टामा धनगढीमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा कुल संक्रमित पाँच हजार कटेका हुन्।

पछिल्लो तथ्यांक अनुसार प्रदेशमा संक्रमितको संख्या पाँच हजार २१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा सबैभन्दा बढी कैलालीमा एक हजार तीन सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

त्यसपछि डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा छ सय २३ र कञ्चनपुरमा पाँच सय ९६ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, डडेल्धुरामा तीन सय १३, बैतडीमा तीन सय एक, बझाङमा दुई सय ९८ र दार्चुलामा ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका चार हजार दुई सय सात जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा २७ संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १३ सहित २४ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा पाँच सय ६३ जनाको परीक्षण गरिएकोमा कैलालीका १३ र कञ्चनपुरका ११ जनामा संक्रमण देखिएको बताए।

उनका अनुसार कैलालीको टीकापुर नगरपालिकाका चार पुरुष र दुई महिला गरी छ जना धनगढी उप–महानगरपालिकाका दुई पुरुष र एक महिला गरी तीन जना, भजनी नगरपालिकाका दुई पुरुष, गोदावरी नगरपालिकाका एक पुरुष र एक महिला गरी दुई जनामा कोरोना पुष्टि भएको हो।

कञ्चनपुरको वेदकोट नगरपालिकाका ६ महिला र तीन पुरुष गरी नौ जना र पुनर्वास नगरपालिका एक महिला र एक पुरुष गरी दुई जनामा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

अन्य तीन संक्रमित भने काठमाडौंमा भएको परीक्षणमा थपिएका हुन्। ह्याम्स अस्पतालको प्रयोगशालामा कञ्चनपुरका एक र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल प्रयोगशालामा कैलालीका दुई जनामा संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell