PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

उत्तर प्रदेशका मन्त्री एवम पूर्वक्रिकेटर चेतन चौहानको कोरोनाबाट मृत्यु



पहिलोपोस्ट

उत्तर प्रदेशका मन्त्री एवम पूर्वक्रिकेटर चेतन चौहानको कोरोनाबाट मृत्यु

उत्तर प्रदेशको मन्त्री तथा पूर्व क्रिकेटर चेतन चौहानको कोरोना संक्रमणबाट मृत्यु भएको छ। आइतबार चौहानको निधन भएको हो। चौहानले भारतकाे राष्ट्रिय टिमको ओपनर ब्याट्सम्यानका रुपमा खेलेका थिए। 

७३ वर्षीय चौहानको हिजोबाटै स्वास्थ्य अवस्था बिग्रिएको थियो। उनको दुबै किड्नी फेल भएको थियो जसका कारण उनलाई लाइफ सपोर्टमा राखिएको थियो। जुलाईमा नै उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, गृहमन्त्री अमित शाह लगायतले समवेदना दिएका छन्।

चौहानले भारतका लागि ४० टेस्ट र ७ एकदिवसीय खेल खेलेका थिए। टेस्टमा २०८४ रन जोडेका उनको उच्च स्कोर ९७ रन रहेको छ।

क्रिकेटको करिअरपछि उनी राजनीतिमा प्रवेश गरेका थिए। उनी भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी) बाट सांसद बनिसकेका छन्। उनी सन् १९९१ र १९९८ मा दुई पटक लाेकसभा सदस्य पनि बनेका थिए।

हाल उनी उत्तर प्रदेशको योगी सरकारको मन्त्री समेत थिए। चौहान योगी सरकारको क्याबिनेटमा कोरोनाबाट मृत्यु हुने दोस्रो मन्त्री हुन्। यसअघि उत्तर प्रदेशकी मन्त्री कमला रानीको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell