काठमाडौं : कागेश्वरी-मनोहरा नगरपालिकाले नगर क्षेत्रभित्र कोरोना भाइरस संक्रमणको प्रभाव बिस्तार हुँदै गएको भन्दै विभिन्न पसल व्यवसाय बन्द गर्न निर्देशन दिएको छ। नगरपालिकाले विज्ञप्ति जारी गर्दै सोमवार देखि भदौ १५ गतेसम्म नगरभित्र सञ्चालनमा रहेका अत्यावश्यक बाहेकका व्यवसायलाई अनिवार्य बन्द गर्न निर्देशन दिएको हो।
नगरपालिकाले कपाल काट्ने शैलुन, ब्युटिपार्लर, चिया पसल, फेन्सी स्टोर तथा कपडा पसल, मोबाइल, घडी, इलेक्ट्रोनिक पसल, मदिरा पसल, मेकअप सामान बेच्ने पसल, बुटिक पसल, सुनचाँदी पसल, भाँडाकुँडा पसल, ट्यूसन सेन्टर, ठेलागाडा र कवाडी संकलन, स्नुकर र मासु पसल बन्द गर्न भनेको छ।
त्यस्तै, रेस्टुरेन्टहरुले टेक अवे अर्थात प्याकिङको मात्र सुविधा दिन पाउने छन्। खाद्यान्न, तरकारी, दुग्ध पदार्थ, ग्यास पसलहरु स्वास्थ्य सुरक्षा मिलाई खोल्न पाउने व्यवस्था गरिएको छ। यसैगरी, उद्योग, व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेको मापदण्ड प्रयोग गर्नुपर्ने नगरपालिकाले बताएकोे छ।

