PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरोना हटस्‍पट बन्दै उपत्यका, एक सातामा कति थपिए संक्रमित?



सहयोग रञ्जित

कोरोना हटस्‍पट बन्दै उपत्यका, एक सातामा कति थपिए संक्रमित?

काठमाडौँ: कोरोना भाइरसको संक्रमण रोक्न करिब चार महिना लकडाउनमा बस्यो नेपाल। कोरोनाको भयमा घरभित्रै थुनिए मानिस। व्यस्त रहने सडक सुनसान थिए। व्यवसाय सबै बन्द। लकडाउन अघि र बीचमै हजारौँ मानिसले उपत्यका छाडे। जीवन ‘असामान्य’ बन्दै गएको थियो।

फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएसँगै चैत ११ गतेबाट गरिएको लकडाउन साउन ६ गते राति अन्त्य भयो। त्यसपछि ‘असामान्य’ बन्दै गएको उपत्यकाको जीवनशैली ‘सामान्य’तिर फर्कने प्रयासमा रह्यो। हुनत सरकारले लकडाउन खुकुलो गर्ने भनेपछि नै उपत्यकामा मानिसहरुको चहलपहल बढ्दै गएको थियो। तर लकडाउन अन्त्य भएपछि दैनिक रुपमा सयौँ मानिस उपत्यका प्रवेश गर्न थाले। सरकारले उपत्यका प्रवेशमा कडाइ गरिरहेको बताए पनि भारतबाट नै उपत्यकामा मानिस आउन सफल भए। सीमा नाकाबाट पनि मानिसहरु निर्वाध रुपमा उपत्यका फर्किए।

लकडाउन अन्त्यसँगै देशभर संक्रमणको अवस्था झनै बढ्यो। लकडाउनको समयमा लक्षणविहीन संक्रमित देखिए पनि लकडाउन अन्त्यसँगै कोरोना संक्रमितमा लक्षण देखिन थाल्यो।  मृतकको संख्या पनि लकडाउन अन्त्य भएसँगै बढ्यो। मृतकहरुमा पनि कोभिड १९ का लक्षण देखिए।  काठमाडौँ उपत्यकामा पनि संक्रमितसँगै मृतकको संख्या बढ्दै गयो।

उपत्यकामा संक्रमितको संख्या बढेसँगै अस्पताल भरिए। स्वास्थय मन्त्रालयले नै संक्रमितको संख्या बढ्दै गएमा उपत्यकामा अस्पतालहरुले बिरामी धान्न नसक्ने भन्यो। यसबीच न क्वारेन्टाइन बनाउने तयारी भयो न त आइसोलेसन वार्ड नै। न भेन्टिलेटर थपिए न आइसियू। बढ्यो त बस् कोरोना संक्रमितको संख्या।

सात दिनमा कहाँ कति थपिए संक्रमित?

पछिल्लो एक सातामा काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्यामा हवात्तै वृद्धि भइरहेको छ। पछिल्लो एक हप्तामा मात्रै उपत्यकामा ८३२ जनामा कोभिड १९ संक्रमण पुष्टि भयो। आइतबारसम्म उपत्यकाका तीन जिल्लामा मात्रै १ हजार ९६७ जनामा संक्रमण पुष्टि भइसकेको छ।

उपत्यकामा हाल काठमाडौँमा सबैभन्दा बढी १ हजार ५६७ जनामा संक्रमण देखिएको छ। ललितपुरमा २६८ जना र भक्तपुरमा १३२ जनामा संक्रमण पुष्टि भइसकेको छ। हाल देखिएका अधिकांश संक्रमितहरुमा कोभिडको लक्षण देखिएको छ। जसबाट पनि अवस्था चिन्ताजनक बन्दै गएको चिकित्सक बताउँछन्।

गएको सात दिनमा काठमाडौँमा मात्रै ६५५ जना संक्रमित थिए। ललितपुरमा १२९ जना संक्रमित थपिँदा भक्तपुरमा ४८ जनामा संक्रमण पुष्टि भयो।

साउन २६ गते उपत्यकामा ४४ जनामा मात्रै संक्रमण देखिएको थियो। त्यसयता संक्रमितको संख्या बढ्दै गएको छ। उपत्यकामा साउन २७ गते १३४, साउन २८ गते १३८, साउन २९ गते १२७, साउन ३० गते ११९, साउन ३१ गते ९८ र साउन ३२ गते १७२ जनामा कोभिड १९ संक्रमण देखियो।

बढ्दो ग्राफ

उपत्यकामा संक्रमितहरुको संख्या बढ्दै गएसँगै तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले संक्रमण फैलाउन सक्ने अवस्थालाई मध्यनजर गर्दै विभिन्न क्षेत्र र गतिविधिमा निषेध गरेका छन्।  विभिन्न नगरपालिकाहरुले आफ्नो नगर क्षेत्रमा सम्भावित संक्रमण रोक्न लकडाउन नै गरेका छन्। संक्रमित पहिचान भएसँगै काठमाडौँ र ललितपुर महानगर र भक्तपुर नगरपालिकाका कयौँ क्षेत्र सिल  गरिएका छन्। सरकारले उपत्यका प्रवेशमा कडाइ गर्नुका साथै सार्वजनिक स्थानमा भीडभाड नगर्न, मास्क लगाएर हिँड्न कडाइ गरेको छ।

उपत्यकामा सर्वसाधरणसहित प्रहरी, ट्राफिक, सरकारी कर्माचारी र एक संवैधानिक निकायका प्रमुखलाई समेत कोरोना संक्रमण देखिएको छ। लकडाउन खुलेयता ‘सामान्य’ बन्दै गएको उपत्यका फेरि ‘असामान्य’ बन्ने त होइन भन्ने शंका पनि उत्पन्न भएको छ। बजारमा भीड पहिलाभन्दा कम भए तापनि व्यापार व्यवसाय निर्वाध सञ्चालित छन्। सार्वजनिक यातायातमा कुनै सतर्कता अपनाइएको देखिँदैन। कोरोना परीक्षणको दायरा बढ्न सकेको छैन। न क्वारेन्टाइनको व्यवस्थापन गर्न सकिएको छ न त अस्पतालको क्षमता नै बढाउन सकिएको छ। केन्द्र सरकारले उपत्यकामा नै साधारण सुविधा उपलब्ध गराउन नसकेको अवस्थामा उपत्यकाबाहिरको अवस्था सजिलै आँकलन गर्न सकिन्छ। उपत्यकासँगै वीरगंज, विराटनगर कोरोनाको हटस्पट बन्दै गएको छ।  वीरगंज विराटनगरमा त लकडाउन नै गरिएको छ।

यता काठमाडौं उपत्यकामा पनि लकडाउन गर्नुपर्ने माग उठिरहेको छ। सीमामा कडाइ गरेर केही साता उपत्यकामा लकडाउन गर्न विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह समेत गरिसकेका छन्। बाहिरबाट मानिसहरु निर्वाध रुपमा उपत्यका प्रवेश गर्ने र क्वारेन्टाइनमा नबस्ने क्रम बढेको भन्दै त्यसबाट संक्रमणको अवस्था भयावह हुन सक्ने उनीहरुको तर्क छ। उता, बाहिरबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयले पत्रचार गरे पनि त्यो कार्यान्वयन हुन सकेको छैन। सरकार उपत्यकामा संक्रमणको अवस्था ‘पर्ख र हेर’ को रणनीतिमा देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell