PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

चितवनका थप पाँच स्थानीय तहमा निषेधाज्ञा जारी



रासस

चितवनका थप पाँच स्थानीय तहमा निषेधाज्ञा जारी
फोटो : कालिका मिडिया

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले थप पाँच स्थानीय तहमा आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकासँगै इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको उल्लेख छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम स्थानीय तहको सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए। भरतपुर महानगरपालिकामा अहिले निषेधाज्ञा जारी रहेकाले यसलाई यथावत राख्दै माडी नगरपालिकाबाहेक जिल्लाका सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको उनले बताए।

आदेशको अवज्ञा गरिएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने उनले जानकारी दिए। पछिल्लो समय जिल्लामा कोभिड-१९ को संक्रमण फैलिँदै गएकाले यसलाई नियन्त्रण गर्न निषेधाज्ञा गर्नुपरेको उनको भनाइ छ।

हालसम्म जिल्लामा १९९ जनामा संक्रमण देखिएकामा एक जनाको मृत्यु भएको छ। ११३ जनामा संक्रमण निको भएको छ भने ८५ जना उपचाररत छन्। कोरोनाको संक्रमण बढ्दै गएपछि शुक्रवार रातिबाट महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गरिएको छ। घरायसी सामग्री खरिदका लागि बिहान र बेलुका ५ बजेदेखि ८ बजेसम्म पसल खोल्न दिइने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell