- विमल गौतम -
शब्दकोश हेरेँ। नेपाली बृहत् शब्दकोशमा विक्षिप्तको अर्थ ‘दिमाग ठेगान नाभएको’, ‘बहुलाएको’ र ‘पागल’ भन्ने लाग्दो रहेछ। यस्तै आत्तिएको, आकुल, व्यग्र, यताउति छिरलिएको, छित्रिएको, छरिएको,त्याग गरिएको, छोडिएको, त्यक्त, फ्याँकिएको र मिल्काइएको भन्ने अर्थ पनि लाग्दोरहेछ। शब्दकोश हेर्नुभन्दा पहिले मेरो दिमागमा ‘विक्षिप्त’ शब्द आएको थियो। दिमागमा विक्षिप्त शब्द आउनुभन्दा पहिला मैले 'कान्तिपुरका सहायक सम्पादक बानियाँको दु:खद् निधन' भन्ने शीर्षकको कान्तिपुरमा नै प्रकाशित अनलाइन समाचार पढेँ र लगत्तै मुहारचित्र (फेसबुक)मा आएका प्रतिक्रिया। केही प्रतिक्रिया यहाँ राख्न अनुमति चाहन्छु। कसैले बौद्धिक चोरीको आरोप नलगाइदिनुहोला।
१) यस्ता पत्रकार सबै मरे हुन्छ।
२) अरे यिनी नेपाली थिए? मैले त आजसम्म भारतीय सम्झेको थिएँ। जे भए पनि औपचारिकताका लागि समवेदना।
३) बौद्धिक आतंककारीको मृत्यु देश र जनताका लागि खुशीको खबर हो।
४)... यमेले नरकमा लगेर चिरा पारोस्।
प्रतिक्रिया पढ्दै जाँदा यस्ता अभद्र टिप्पणी प्रशस्त भेटिएका थिए। सकारात्मक टिप्पणी पनि यदाकदा थिए। केहीले श्रद्धान्जलिका भाव व्यक्त गरेका थिए भने एकले त्यहाँका प्रतिक्रियाको चरित्रलाई लक्ष्य गर्दै 'मृतकको लाशमाथि विष वमन गर्नेहरूको कहिल्यै मृत्यु नहोस्, शुभकामना।' लेखेका थिए।
खै! यी नकारात्मक प्रतिक्रिया पढेर मेरो मनले के तुष्टि पायो? सबै प्रतिक्रिया नपढुञ्जेल म रोकिइन। पढिसकेपछि लाग्यो, यो पढेर म सन्तुष्ट भएँ। लाग्यो, यी सबै लेख्ने मेरै दिमाग हो। एकछिनमा विवेक पलायो। मान्छेको रहस्यमय मृत्यु भएको छ, अनि म खुशी हुने? मेरो मानिस हुनुको भाव सकिएको हो?
म कानूनको विद्यार्थी। प्रमाणित नभइकन कसैलाई दोषी करार गर्न मिल्दैन भन्ने बुझेको छु। अझ कानूनले त अपराधीको पनि अधिकारको कुरा गर्छ। यहाँ त विचरा! लासमाथि अभद्रता। यी सबै पढेर सन्तुष्ट हुने मेरो दिमाग तुच्छ लाग्यो। बानियाँलाई म चिन्दिन पनि। उनका अक्षरहरू कुनै समय पढेको हुनु अर्कै कुरा। उनीसँग मेरो कुनै दुश्मनी छैन। गहिरो मित्रता पनि होइन। टाढाको सम्बन्ध पनि छैन। गोरु बेचेको साइनो पनि लाग्दैन। अनि किन ती प्रतिक्रिया पढ्न म तल्लीन् भएँ त? आफैलाई प्रश्न गरेँ- आखिर के बिगार गरे त बानियाँले? बानियाँले लेखे र फेरि लेखे अनि लेखे। उनले लेखेर जीवन चलाए। लेखेर सुसूचित गराए। लेख्नु गल्ती हो? त्यसोभए त यहाँ करोडौँले गल्ती गरिरहेका छन्। माया परको कुरा मरेपछि लासले पनि दया नपाउने यो समाजमा किन लेख्छन् यी लेखकहरू?
प्रतिक्रिया पढ्दै जाँदा बानियाँका दुई विषयका लेखाइमा असन्तुष्टि बुझियो- १) बानियाँले कुलमान घिसिङको बारेमा नकारात्मक लेखे। २) बानियाँले चीनले नेपालको सीमा मिचेको समाचार इण्डियाको इसारामा लेख्न लगाए। ल मानौँ यी विषय उनले गलत नै लेखे (सत्य अनुसन्धानपछि खुल्ने कुरा हो।) त उनले लेखेका अन्य हजारौँ समाचारको मूल्य? ल त्यो पनि चाहिएन। आलोचना, समालोचना गर्न सकिन्छ। के लासमाथि चढेर खुशीले नाच्नु मानव सुहाउँदो व्यवहार हो? मानिसहरू किन लास टेकेर नाचिरहेका छन्? यसो गरिरहँदा मानिसलाई किन सन्तुष्टि प्राप्त भइरहेको छ? विक्षिप्त भएर? कि विकसित भएर?
अलि अगाडि प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव बालुवाटारमा प्रधानमन्त्री र अन्य नेताहरूसँग बैठक गरेर जनकपुर फर्किएपछि कोरोना पुष्टि भएको खबर आएको थियो। उक्त खबरमा आएकामध्ये दुई प्रतिक्रिया यस्ता थिए-
१) मन्त्री यादवले 'फेमस बूढो बाजेको पेडा पसल'बाट पेडा लगेर प्रत्येक नेतालाई घरमा दिएको भए झनै राम्रो हुन्थ्यो।
२) नेपाली जनताको लागि काम गर्ने पहिलो मन्त्री यी हुने भए। यिनलाई धेरै धन्यवाद। सबै नेतालाई कोरोना लागोस्।
उक्त खबरमा प्रतिक्रिया दिनेहरूले स्वास्थ्यलाभको कामना भन्दा पनि खुशी व्यक्त गरेको पाइयो। अझ यादवले प्रधानमन्त्री, अन्य मन्त्रीहरू, नेताहरूलाई भेटेको र प्रचण्ड, माधवकुमार, शेरबहादुर लगायतका नेता पनि नियमित सम्पर्कमा रहेकोले ती सबैमा कोरोना लागोस् भन्ने अपेक्षा प्रतिक्रियामा थिए। प्रचण्डका सुरक्षाकर्मीलाई सङ्क्रमण भएको खबर आउँदा अब प्रचण्ड र अन्य सबै नेतामा कोरोना सल्कियोस् भन्ने भावका प्रतिक्रिया लेखिएका थिए। अख्तियार प्रमुखलाई कोरोना लाग्दा उच्चपदस्थ सबैमा कोरोना लागोस् भन्ने प्रकृतिका प्रतिक्रिया आए। आखिर किन मानिसहरू नकारात्मक भावनाको सिकार भइरहेका छन्? नेपालीले आफ्नो सन्तुष्टिका लागि अन्य कुनै उपाय नपाएर नकारात्मक प्रतिक्रिया लिएर नै सन्तुष्ट भएका हुन् त?
क्वारेन्टाइनमा बसेका कतिपय विद्यालय र क्याम्पसजस्ता स्थानमा मानिसहरूले त्याहाँका भौतिक सामग्रीको तोडफोड गरेका र डेक्सबेन्च आगो बालेर तापेका खबर पनि आए। यसो हुनुमा अभाव पनि होला तर त्योभन्दा पनि ज्यादा सोचाइको दरिद्रता होइन र? यस्तो दरिद्र र विक्षिप्त सोच बोकेर नेपाली समाज कुन दिशामा जाँदै छ? अझ लेक्चरहरूले नै क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेर कुर्सी जलाएका खबर पनि यही कोरोना कहरबीच सुन्न पाइयो। यी कुराले हाम्रो समाजिक संस्कारको पतनलाई संकेत गर्दैन र? यसका लागि हाम्रो संस्कार, दर्शन, राज्य प्रणाली, शिक्षा प्रणाली आदि कोको र केके दोषी हुन्? विचार र विवेकको दरिद्रतालाई रोक्न सामूहिक प्रयास गर्न ढिला भएन?
नेतृत्व समाजकै प्रतिबिम्ब हो। बारम्बार झुट बोलिरहनु, समाज विरूद्धका गतिविधि गर्नु, महामारीको समयमा मा तल्लो तहबाट उपल्लोतहका नेताहरू हिनामिना गर्न लागिपर्नु, विवादमा मुछिनु, आदि कार्य विचार र विवेकको सही प्रयोग गर्ने मानिसले गर्ने कार्य हुन् र? यी विक्षिप्त हुनुकै परिणाम होइनन् र? अझ जनताई हजुर भनेर हात जोडेर भोट मान्नु, जित्नु, जितेर मन्त्री पनि बन्नु, मन्त्री बनिसकेपछि तिनै जनताई मोतियाबिन्दु लागेको भन्नु र मति सप्रियोस् भन्ने कामना गर्नु मानसिक विरामीकै नमूना होइन र? नेतालाई दोष किन दिनु र? समाज जस्तो नेता उस्तै। हामी यो विक्षिप्त सोच कहिलेसम्म बोकेर हिँड्ने?
कोरोनाको महामारीले प्रत्येकको मन र मस्तिष्कमा फरक तरङ्ग ल्याएको छ। नहुनेहरू भोकभोकै छटपटाउनु परेको छ। मानिसहरूले आफ्नो काम गुमाएका छन्। काम गुमाएपछि आम्दानी शून्य भएको छ। मनमा कोरोनाको त्रास छ। कोरोनाभन्दा पनि बिरामी भइहालेमा उपचार पाउने हो या होइन भन्ने डर बढेको छ। हेरेर मर्नुभन्दा छेरेर मर्नु जाति भन्ने विचार पनि बलियो बन्दै गएको देखिन्छ। जताततै भयग्रस्त, अभावग्रस्त र तनावग्रस्त माहोल छ। एक केजी चामल किन्न पसल गएको घरमूलीले कोरोना बोकेर आउला भन्ने डरमा बाँच्नुपरेको छ। विराटनगरमा वडा नं. ३ मा एकजना बृद्धको मृत्यु भयो। उनका छोरा कोरोना लागेर उपचाररत छन्। बुहारी र नातिलाई पनि कोरोना देखिएको छ। छरछिमेकी मृतकको घरमा टाढैबाट हेरेर बसेका छन्। नगरपालिका लगायतका सरकारी निकाय सुरक्षा सामग्री सहित उपस्थित भएर लाश उठाउन २४ घण्टा बित्दा पनि आइपुगेनन्। यो अवस्थामा मानिसको मानसिक अवस्था कस्तो बन्ला? यी सबै कुराले मानिसको विचारलाई अझ विक्षिप्त बनाइरहेको छ। आत्महत्याका घटनाहरू बढिरहेकै छन्। हत्या, चोरी डकैती, बलात्कार लगायतका अपराध त नियमित छँदैछन्। यी सबै मानसिक विकारकै परिणाम न हुन्। समाज अझै भड्कने अवस्थामा देखिन्छ। यसका लागि राज्य आफैँ अग्रसर भएर समस्याको समाधातर्फ लाग्नु पनि आवश्यक देखिन्छ। कम्तिमा सबैका न्यूनतम आवश्यकता पूरा गर्नुपर्ने देखिन्छ। त्यसले यो विक्षिप्तपन बढ्नबाट रोक्नमा सघाउ पुग्नेछ।
शिक्षा, ज्ञान र संस्कारको व्यवहारमा उतार्न नसक्दा हाम्रा विचारमा स्खलन भइरहेको छ। एउटा कथा प्रसङ्ग सम्झनामा आयो। विवाह पछि श्रीमान् कहिल्यै ससुराली गएको हुँदैन। ससुरालीबाट ज्वाइँलाई बोलाइरहिएको हुन्छ। एकदिन श्रीमतीले श्रीमानलाई उनको माइत पठाउन तयारी गर्छिन्। श्रीमान् ज्यादै नै सोझो हुन्छन्। श्रीमानले अनावश्यक बोलेर कुरा बिग्रिएला भन्ने पीरले श्रीमतीले “जे भने पनि राम्रो भन्नू” भनेर सिकाएर पठाउँछिन्। श्रीमान ससुराली पुग्छन्। ससुराबाले हलगोरु मरेको, खेत खोलाले बगाएको दु:ख पोख्छन्। ज्वाइँ भने प्रत्येक कुरामा “ए राम्रो” भन्दै टाउको हल्लाउछन्। घर फर्केर आफूले ससुरासँग गरेको सबै कहानी श्रीमतीलाई सुनाउँछन्। श्रीमती आफ्ना श्रीमानको छाँट देखेर दिक्क हुन्छिन्। 'ल बर्बाद भएछ भनेर भन्नुपर्ने पो थियो' भन्दै सम्झाइन्। अर्कोपटक ससुराली जाँदा ससुराले आफूले नयाँ गोरु किनेको र खेत जोडेको कुरा गर्छन् तर ज्वाइँ भने 'ल बर्बाद भएछ' भन्दै चिन्ता व्यक्त गर्छन्। यो प्रचलित कथा कुनै सोझो व्यक्तिलाई हावामा उडाएर रमाइलो गर्न रचिएको बुझ्न सकिन्छ तर शिक्षित समुदाय कसरी अर्काको दु:ख वा मृत्युमा खुशी हुनसक्छ? अर्काको मृत्युमा खुशी हुने शिक्षा र संस्कार कहाँबाट प्राप्त भएको हो? दु:ख र मृत्युमा कस्तो भाव हुन्छ भन्ने ख्याल नगर्ने समाज ‘दिमाग ठेगान नभएको’, ‘बहुलाएको’ र ‘पागल’ नभएर अरू केही हुनसक्ला?