इन्डियन एयरफोर्स (आइ.ए.एफ) की पाइलट श्रीविद्या राजनले फिल्म 'गुञ्जन सक्सेना: द कारगिल गर्ल'माथि प्रश्न गरेकी छिन्। उनले एक फेसबुक पोस्टमार्फत् फिल्म तथ्यगत् हिसाबमा गलत भएको बताएकी हुन्। श्रीविद्या पाइलट गुञ्जनकी सहकर्मी हुन्।
फिल्ममा उधमपुरस्थित एयर बेसमा गुञ्जन सक्सेनालाई एकमात्र महिला पाइलटको रुपमा देखाइएको छ। श्रीविद्याका अनुसार त्यहाँ दुई महिला पाइलट थिए जसमध्ये एक उनी स्वयं हुन्। उनीहरूलाई सन् १९९६ मा एकसाथ हेलिकप्टर इकाइमा खटाइएको थियो।
उनले लेखेकी छिन्,'पुरुषको बाहुल्यता रहेको पेशा थियो। हामीलाई डर थियो त्यहाँ आफू स्वीकार्य हुन्छौं या हुँदैनौं भन्ने।'
सुरुवाती दिनमा पुरुष सहकर्मीले आफूहरूप्रति पूर्वाग्रह राखे पनि दुवै महिला पाइलटलाई सहयोग गर्ने अधिकारीहरू रहेको उनले प्रष्ट पारेकी छिन्।
भनेकी छिन्,'हामीले गल्ती गर्थ्यौं। कडाईका साथ छानबिन पनि भयो। ती गल्ती पुरुष सहकर्मीले गरेको भए नदेखेजस्तै गरिन्थ्यो। हामीले आफूलाई साबित गर्न पुरुषहरूले भन्दा अलि बढी मिहेनत गर्नुपर्थ्यो।'
केही पुरुषले महिलालाई सहकर्मी नस्वीकारे पनि धेरैले आफूहरूको लक्ष्य एउटै रहेको भन्दै साथ र सहयोग पुर्याएको उनको तर्क छ।
सीमित स्रोतको प्रयोग र अन्य अप्ठ्याराहरूका बावजुद् आफूहरूले कहिले पनि शारीरिक शक्तिको प्रदर्शन गर्नु नपरेको उनले बताएकी छिन्।
फिल्ममा गुञ्जन सक्सेना बनेकी जाहन्वी कपुर र सहकर्मीबीच पञ्जा लडाई गराइन्छ। सोही दृश्य इंकित गर्दै श्रीविद्याले भनेकी छिन्,'त्यस्तो कहिल्यै भएन।'
कारगिलमा युद्ध हुँदा गुञ्जन सक्सेनालाई मात्र पठाइएको फिल्ममा देखाइन्छ। उक्त तथ्य खण्डन गर्दै लेखेकी छिन्,'जब कारगिल द्वन्द्व सुरु भयो, म पहिलो महिला पाइलट थिएँ जसलाई पुरुष इकाइका साथ श्रीनगरमा तैनाथ गरियो। गुञ्जन श्रीनगर आइपुग्नु अघि नै मैले द्वन्द्व क्षेत्रमा मिसनहरू उडाएँ। केही दिनको अपरेशन पछि, गुञ्जन सक्सेना अर्को चालक दलको साथ श्रीनगर आइन्।'
आफूहरूलाई दिइएको सबै अपरेसनहरूमा सक्रिय रूपमा सहभागी भएको बताएकी छिन्।
फिल्मको क्लाइमेक्समा घाइते सेनाको उद्धारका लागि दुई वटा उडान हुन्छ। जसमा एउटा हेलिकप्टर गुञ्जन सक्सेनाले उडाउँछिन् र दोस्रो उनको क्षमतामाथि प्रश्न गर्ने पुरुष सहकर्मीले। दूर्भाग्य बस् दोस्रो हेलिकप्टर पाकिस्तानी सेनाको निशानमा पर्छ र दुर्घना हुन्छ।
दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई बचाउन गुञ्जन सक्सेना जोखिम मोलेरै पुग्छिन्। उनको वीरताको तारिफ हुन्छ।
तर सहकर्मी श्रीविद्या लेख्छिन्,'त्यस्तो वास्तवमा कहिल्यै भएको थिएन।'
उनले गुञ्जन एक सशक्त महिला वायु सेना भएको र आफूलाई उनीमाथि पूर्ण विश्वास भएको बताउँदै लेखेकी छिन्,'पक्कै फिल्म निर्माताहरूले कथा तोडमोड गरेका हुन्।'
कारगिल द्वन्द्वमा गुञ्जन र आफूलेभन्दा बढी अप्ठ्यारा र चुनौति पुरुष सहकर्मीले भोगेको उनको अनुभव छ। तर, सधैं चर्चा आफूहरूको भएकोमा असहमती जनाउँदै भन्छिन्,'हामी महिला भएकै कारण जुन प्रशंसा बटुल्यौं त्यो मलाई ठीक लाग्दैन। किनकि अन्तत: बर्दीमा हामी केवल एक सेना हौं।'
'गुञ्जन सक्सेना : द कार्गिल गर्ल'विरुद्ध गत विहीवार नै भारतीय वायु सेनाले पनि निवेदन दिएको छ। वायु सेना बारे नकारात्मक प्रचार गरिएको भन्दै सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन (सीबीएफसी)मा पत्र पठाइएको हो।
