PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

लकडाउन नहुँदा 'बाउन्स ब्याक'को अपेक्षा जुन अब बिस्तारै धर्मराउँदैछ

लकडाउन नहुँदा 'बाउन्स ब्याक'को अपेक्षा जुन अब बिस्तारै धर्मराउँदैछ

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : ठप्प कारोबारमा आशाका पालुवाहरु पलाउँदै थिए। १ सय २० दिन लामो लकडाउनले भयको डेरामात्र जमाएन, नराम्ररी अत्यायो। सरकारले क्रमश: लकडाउन खुला गर्‍यो र तोक्यो रेस्टुराँ संचालनका लागि मापदण्ड। विश्वभर नै यस्तै हाल छ भन्दै चित्त बुझाउने बाहेक उनीहरुसँग कुनै उपाय थिएन। चार महिना लामो बन्द बेहोरेका उनीहरु अब भने व्यवसायमा 'बाउन्स ब्याक' हुने अपेक्षमा थिए।

ठप्पजस्तै रहेका ठूला बसहरु सडकमा गुड्न थाले। मानिसहरुको गतिविधि पनि बाक्लिँदै गयो। ताल्चा लागेका रेस्टुराँ खुल्न थाले। बन्द भएका तारे होटेलका गेटहरु पनि खुल्न थाल्यो। ठाउँ ठाउँमा लेखेकै देखिन थाल्यो - रेस्टुराँ खुला छ।

महिनौंसम्म बन्द बेहोर्नु सहज होस् कसरी? एकातिर भएका वस्तु खेर गइरहे। अर्कातिर भाडा तिर्नुपर्ने वाध्यता जिवितै रह्यो। साउन १५ गतेदेखि होटल व्यवसाय संचालनमा ल्याउन दिने सरकारी निर्णयसँग जोडियो सुरक्षा मापदण्ड। त्यसैलाई आधार बनाएर रेस्टुराँमा खाना मगमगाउन सुरु भयो। धेरै दिन थुनिएका मानिसहरुले स्वाद फेर्न पनि पाए।

कार्यालय खुले। कारखानामा मानिसहरु काममा जान थाले। मानिसहरु जसरी चलायमान हुन सुरु भयो, रेस्टुराँ विस्तारै गुलजार हुने मोडतिर लागे। ठीक त्यतिखेर नै बाहिर गएका मानिसहरु राजधानी उपत्यकामा भित्रिने रफ्तार बढ्यो। यो रफ्तारसँग कोरोना भाइरसको संक्रमणले बिस्तारै गाँज्न थाल्यो। कोभिड १९ का धेरै संक्रमित भएका जिल्लाको सूचीमा काठमाडौंले छलाङ मार्न सुरु गर्‍यो। खराबतिरको यात्रा काठमाडौंमा मात्र सीमित थिएन, देशैभरी जारी रह्यो - विशेषगरी शहरी क्षेत्रहरुमा। त्यसैले फेरि नाम किटेर वा नकिटेर 'लकडाउन' ब्युँतिन थाल्यो। कतै जिल्ला प्रशासन त कतै स्थानीय तहकै निर्णयमा भयो लकडाउन।

यतिखेर काठमाडौंमा लकडाउन छैन। तर, काठमाडौं खुलेको पनि छैन। केही दिन अघिसम्म चहलपहल भएका रेस्टुराँहरुमा फेरि टाँस्न थालियो - 'टेक अवे' मात्र। उपत्यकाका तीन जिल्ला प्रशासनले सटडाउनको नीति लिए। स्थानीय तहले अति आवश्यकबाहेक सबै बन्द गर्ने निर्णयमा पुगे।

कोरोना भाइरसको जोखिमप्रति उच्च सतर्कता अपनाई खुलेका होटल र रेस्टुराँ र स्थानीय खाजा मानिसहरु बसेर खानपान गर्न नपाउने भए। चिया दुकानहरु बन्द भए। प्रहरी नै बन्द गराउन लाग्यो।

'लकडाउन पछि विस्तारै ग्राहक आउन थालेका थिए। अहिले कसैले रेस्टुराँ खुल्ला छ भनेर सोध्यो भने भन्छु - खुल्ला छ,' १५ वर्षदेखि होटल व्यवसायसँग जोडिएका एचटूओ रेस्टुराँका संचालक सुजनदेव प्रधानले भने, 'व्यापार चाहिँ २० प्रतिशत पनि छैन।'

२० प्रतिशत पनि कारोबार नहुनुको अर्थ हो - पाँच भागको चार भाग गुमाउनु। अनि पाँच कामदारको काम एकैबाट पूरा हुने अवस्था। यो अवस्था मुलुकको समग्र अर्थतन्त्रका लागि कति भयपूर्ण छ, यस क्षेत्रका व्यवसायीले आँकलन गर्न थालिसकेका छन्।

'अहिलेसम्म भाडासम्म तिर्न सकिन्छ कि भनेर खोलेको छु,' रित्तो रेस्टुराँतिर आँखा डुलाउँदै प्रधानले भने, 'आजसम्म त जेनतेन चलाएको छु। यस्तै समय चलिरहे रेस्टुरेन्ट कति चल्छ ठेगान छैन।'

काठमाडौंको रेस्टुराँहरुको सबैभन्दा ठूलो हव हो ठमेल। ठमेलको सुनासान विरहलाग्दो छ। ठूलै बन्द होस् या आन्दोलन ठमेल त्यसको प्रभावबाट टाढा हुन्थ्यो, भलै ठमेल ती आन्दोलनको दुरीबाट नजिकै थियो। तर, यतिखेर ठमेलको त्यो रुप फर्किने अवस्थामा देखिन्न।

यहाँ कति होटल त बन्द छन् कति भने ग्राहकको प्रतीक्षामा। केहीले अनलाइनबाट खानाको अर्डर त लिइरहेका छन् तर त्यसमा पनि जोखिम नै छ।

'भोज' एपबाट खाना पुर्‍याउँदै आएका मनोज लामा महामारीका कारण काममा रिस्क बढेको स्वीकार्छन्। दैनिक ८/१० ठाउँमा खान पुर्‍याउँछन् उनले।

'दिनभरि काम गर्दा त खासै ध्यान हुन्न। तर, बेलुका घर पुगेर परिवार देखेपछि झसङ्ग हुन्छ,' लामाले भने। घर मा पनि उनीप्रति शंका गर्छन् - कतै कोरोन त ल्याइनस्?

२०२० लाई पर्यटन वर्षका रुपमा सरकारले मनाउने तयारी गरेसँगै धेरैले रेस्टुराँमा लगानी गरे। यतिखेर उनीहरुको लगानी उठ्ने त टाढाको कुरा, भाडा तिर्ने पो कसरी भन्ने पिरलोमा पिसिएका छन्। एकातिर काठमाडौंले रौनकता गुमाउँदै छ, अर्कातिर लगानी गर्नेहरु त्राहित्राहिमा बाँचिरहेका छन्। उनीहरु सबै चाहन्छन् - कोरोना सकियोस्, व्यापार फेरि बढोस् अनि फेरि काठमाडौं पुरानै रुपमा फर्कियोस्।



ट्रेन्डिङ पोस्ट

Ncell