PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

सुदूरपश्चिममा आज ‘वल्के चाड’ मनाइँदै, मौलिकता हराउन थालेकामा चिन्ता व्यक्त



रासस

सुदूरपश्चिममा आज ‘वल्के चाड’ मनाइँदै, मौलिकता हराउन थालेकामा चिन्ता व्यक्त

कैलाली : सुदूरपश्चिम प्रदेशमा परम्परागत रुपमा मनाइने मौलिक चाड ‘वल्के’ आज हर्षोल्लासपूर्वक मनाइँदै छ।

भदौ १ गते अर्थात् महिनाको पहिलो दिन मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात् ‘उपहार’ भन्ने बुझिन्छ। यो चाडमा आफ्ना मान्यजन र छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको कलिलो पात, दूध, दही दिएर स्वागत गर्ने गरिन्छ।

यसैगरी विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण गरी लाउन, बावर, माणा, निसौसे, डुब्का लगायतका स्थानीय खानाका मीठा परिकार पकाएर खुवाउने र खाने प्रचलन छ।

भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाउने गरिन्छ। भँगेरी फूलको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने र यसले बर्सातको मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको संक्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ।

सदियौँदेखि मानाइँदै आइएको यो चाडको रौनक र महत्वका बारेमा वृद्धवृद्धा केही जानकार रहे पनि नयाँ पिँढीका युवायुवतीमाझ भने यो चाडले प्राथमिकता पाउन छाडेको धनगढी गाउँका स्थानीयवासी हिरालाल जोशीले बताए। फलस्वरुप सुदूरपश्चिमका मौलिक संस्कृतिका वल्केजस्ता थुप्रै चाडपर्वको मौलिकता नै हराउन थालेकामा चिन्ता व्यक्त गर्न थालिएको छ। खासगरी सुदूरपश्चिमका पहाडी क्षेत्रमा यो चाड हर्षोल्लासपूर्वक मनाइने गरेको छ।

परापूर्वकालदेखि नै ‘मरुला भनेर ‘बिशु’ खानु, बाँचे भनेर ‘वल्के’ खानु’ भन्ने एक किसिमको किंवदन्ती छ। ‘बिशु’ भन्नाले नयाँ वर्ष अर्थात् वैशाख १ गते मनाइ पर्व हो। चाडमा गाउँघरतिर समूहमा विभाजन भई देउडा खेल्ने, पिङ खेल्ने तथा स्थानीय लोक भाकामा गीत गाउने लगायतका क्रियाकलाप पनि गर्ने गर्दछन्। शहरमा भने यो चाडको महत्व केहीमात्रामा घट्दै गएको स्थानीय अगुवाको भनाइ छ।

पश्चिमा संस्कृतिको बढ्दो प्रभावका कारण नेपाली समाजमा सदियौंदेखि मनाइँदै आएका कतिपय ऐतिहासिक र मौलिक चाड बिस्तारै हराउन थालेको भए पनि यस्ता चाडपर्वको संरक्षणका लागि कतैबाट पहल नभएको देखिन्छ। नेपाली सञ्चारमाध्यमले पनि स्थानीय चाडपर्वको महत्व र ऐतिहासिकतालाई उचित स्थान नदिएको कारण पनि मौलिक चाड पर्व हराउनमा मद्दत पुगिरहेको स्थानीय अगुवा नवराज भट्टको भनाइ छ।

यस वर्ष भने विश्वव्यापी महामारीका रुपमा कोरोना संक्रमणको बढ्दो जोखिमका कारण विगतका वर्ष जस्तो चहलपहल भने रहेको छैन। यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउ, गडवाललगायतका स्थानमा पनि मनाउने गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell