काठमाडौं: काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा पहिलोपटक राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आयोजना हुँदैछ। प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अगष्ट २९ देखि ३० मा हुने जनाइएको छ।
प्रतियोगितामा करिब ५ सय खेलाडीले सहभागिता जनाउने अपेक्षा रहेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन्।
पुरुष र महिलामा समान ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। यु–१२, यु–१५, यु–१८, १८– ३१ वर्ष, ३१–४० वर्ष र ४१ वर्षमाथि उमेरसमूहमा खेल हुनेछ। प्रतियोगितामा पुम्से विधामा मात्र प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताका लागि खेलाडीले अगष्ट २७ र २८ मा श्रब्यदृष्य पठाइ सक्नु पर्ने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालन गर्न खड्कासहित नोर्बु लामा, मिन न्यौपाने, हीराबहादुर थापा र विक्रम खड्गी निर्णायकका रुपमा रहनेछन्। खड्का कार्यवाहक अध्यक्ष भएपछि पहिलो प्रतियोगिता हुन लागेको हो।
