काठमाडौं : पछिल्लो २४ घण्टामा देशभरका ३७ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको परीक्षणका क्रममा १७३ महिला र ४०८ पुरुष गरी ५८१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
संक्रमण पुष्टि हुनेमा सबै भन्दा बढी काठमाडौं जिल्लामा १३९ जना रहेका छन्। त्यस्तै, ललितपुरमा १५ र भक्तपुरमा १४ गरी उपत्यकामा मात्र १६८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या २७ हजार २४१ पुगेको प्रवक्ता गौतमले जानकारी दिए।
पछिल्लो १४ घण्टामा १६० जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ पुगेको छ। जुन कुल संक्रमितको ६४.२ प्रतिशत हो।
कुल संक्रमितमध्ये ९ हजार ६३९ सक्रिय संक्रमित उपचारका क्रममा रहेका छन्। जसमध्ये सात हजार ३८ जना संस्थागत आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा पर्साका ७५, बाराका ५९ जना रहेका छन्। मोरङमा पनि ४० जनामा संक्रमण पहिचान भएको छ। त्यस्तै, रुपन्देहीका ३२ र प्युठानका २८ जनामा पनि संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी वाग्मती प्रदेशमा १८७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, प्रदेश २ मा १६७ र प्रदेश ५ मा ८९ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश १ मा ७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
सुदूरपश्चिम प्रदेशमा २८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, गण्डकी प्रदेशमा २६ र कर्णाली प्रदेशमा ६ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि भएकामध्ये हाल ११३ जना आइसीयूमा उपचाररत छन्। जसमध्ये प्रदेश १ मा १, प्रदेश २ मा ४१, वाग्मती प्रदेशमा ५९ जना आइसीयूमा छन्। त्यस्तै, गण्डकीमा १ र प्रदेश ५ मा ११ जना संक्रमित आइसीयूमा उपचाररत छन्। यस्तै, ६ जनाको भेन्टिलेटरको सपोर्टमा उपचार भइरहेको छ। उनीहरु सबै वाग्मती प्रदेशमा छन्।
हाल एक्टिभ केस पाँच सय भन्दा बढी रहेका जिल्लाहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन्। त्यस्तै, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा एक्टिभ केस छैनन्।

