PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

मन्दिरको ढुङ्गाको विषयमा दुई पक्षबीच भनाभन, निषेधाज्ञा तोडेपछि प्रहरीले गर्‍यो हवाई फायर



रासस

मन्दिरको ढुङ्गाको विषयमा दुई पक्षबीच भनाभन, निषेधाज्ञा तोडेपछि प्रहरीले गर्‍यो हवाई फायर

चितवन : कोरोना संक्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा प्रहरीले आज एक राउण्ड हवाई फायर गरेको छ।

निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका-१ पिप्लेमा स्थानीयले निषेधाज्ञा तोडेपछि प्रहरीले हवाई फायर गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार स्थानीयको भीड जम्मा भएर निषेधाज्ञा तोडेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो।

निषेधाज्ञाको समयमा भीडभाड गरेको र स्थानीय दुई पक्षबीच झडप हुने अवस्था आएपछि भीडलाई नियन्त्रणमा लिँदै निषेधाज्ञा कार्यान्वयनका लागि हवाई फायर गरिएको उनले जानकारी दिए। भीडलाई उत्तेजित गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय ठाकुर बर्तौला रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ।

पिप्ले मन्दिरमा पूजा गरिएको ढुङ्गा सोही नगरपालिकाको पाख्रिबासकी सरस्वती पुन नाम गरेकी महिलाले लगेपछि स्थानीयले ढुङ्गा फिर्ता ल्याउनुपर्ने भन्दै भेला भएका थिए। ती महिलाले सपनामा भगवानले सो ढुङ्गा ल्याउन भनेको भन्दै लगेको प्रहरीले जनाएको छ। ढुङ्गा फिर्ता ल्याउन भेला भएका स्थानीयलाई सुरक्षाकर्मीले रोकेपछि झडप भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell