PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

नेकपा विवाद : ओलीको ५ दिने ‘काउण्टडाउन’ पूरा, समाधानका लागि के-के भयो गतिविधि?



कुञ्जरमणि भट्टराई

नेकपा विवाद : ओलीको ५ दिने ‘काउण्टडाउन’ पूरा, समाधानका लागि के-के भयो गतिविधि?

काठमाडौं : साउन २८ गते नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ५ दिनभित्र पार्टी विवाद समाधानको एउटा ‘सिनारियो’ देखिने दावी गरेका थिए।

एपी वान टेलिभिजनबाट प्रशारित ‘द बाभ्रो डेल्टा शो’मा पत्रकार भुषण दाहालको प्रश्नमा ओलीले भनेका थिए, ‘हप्ता दश दिन होइन्,पाँच दिनमा फेरि मसँग प्रश्न गर्नुस्। के हुन्छ सिनारियो?’, ओलीले भनेका थिए, ‘भोलि एक भनेर काउण्टडाउन सुरु गर्नुस्।’

ओलीले दिएको ५ दिने ‘डेडलाइन’ पूरा भएको छ। तर, पार्टीको विवाद समाधानको कडी भने निस्किएको छैन।

विगत दुई महिना यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको आन्तरिक विवाद सुल्झिन सकेको छैन। यद्यपि, विवाद समाधान तर्फ ल्याण्डिङ उन्मुख दिशामा पुगेको नेताहरुले बताउन थालेका छन्।

नेताहरुले आ-आफ्नै दावी गरिरहँदा पार्टी भित्रको विवाद बाहिर खुल्ला रुपमा देखिएको छ। यता, ओली निकट नेताहरु भने प्रधानन्त्रीले नै सहमतिको खाका बनेका भनिसकेको भन्दै फेरि पार्टी विवाद अन्त्य हुने आश्वासन दिइरहेका छन्। आरोपप्रत्यारोपको क्रम जारी नै छ। त्यसैले राजनीतिक विष्लेषक श्याम श्रेष्ठ नेकपाको विवाद मिल्ने सुत्र अझै फेला नपरेको बताउँछन्।

‘यो त पदकै लडाइ हो। पार्टीको विधान देखाउने कुरा मात्रै हो। मिलिसकेको भन्न नै मिल्दैन। किनकी पदको भागबण्डा मिलेको छैन्,’ उनले भने।

तर, संवाद दुबै तर्फबाट सुरु भएकाले अब सहमतिको सम्भावना बलियो भएको उनले बताए।

ओलीले दिएको ५ दिने डेटलाइनमा के-के भए त गतिविधि?

पहिलो दिन : दुई अध्यक्षबीच ४ घण्टा छलफल

ओलीको ५ दिने अल्टिमेटमको भोलिपल्टै अध्यक्षद्वय ओली र प्रचण्डबीचको एक साता लामो संवादहीनता तोडियो।

साउन २० गतेपछि ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुन सकेको थिएन। ओली प्रचण्डबीच बिहीवार झण्डै चार घण्टा लामो छलफल भयो।

साउन २१ गतेका लागि भेटघाटको मिति तय भए पनि अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले छुट्टै पत्रकार सम्मेलन गरेपछि वार्ताको वातावरण बिग्रिएको थियो।

त्यसो त प्रचण्ड र महासचिव विष्णु पौडेल पनि आफ्ना सुरक्षाकर्मीहरुलाई कोभिड-१९ संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका थिए। साता लामो आइशोलेसनबाट निस्किएर उनीहरुबीच छलफल भएको थियो। तर विवाद समाधानमा कुनै निर्णय हुन सकेन।

दोस्रो दिन: ६ सदस्यीय कार्यदल गठन

दुई अध्यक्षबीच शुक्रवार पनि छलफलले निरन्तरता पायो। भेटवार्ताले पार्टीको समस्या सुल्झाउनका लागि भन्दै ६ सदस्यीय कार्यदल गठन गर्‍यो।

कार्यदलमा पार्टी महासचिव विष्णु पौडेलसहित स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल रहेका छन्।

पार्टी विवाद समाधानका लागि बनाइएको कार्यदलमा पनि भागबण्डा मिलाइएको छ। कार्यदलमा ओली, प्रचण्ड र नेपालका दुई/दुई जना सदस्यहरु रहेका छन्।

तेस्रो दिन : कार्यदलको पहिलो बैठक, गठनप्रति शीर्ष नेताको असन्तुष्टी

विवाद सुल्झाउन बनेको कार्यदलले शनिवारबाटै नै काम थाल्यो। शनिवार भैंसेपाटीको एक निजी घरमा बसेको कार्यदलको बैठक अनौपचारिक छलफलमा सिमित भयो।

कार्यदलका सदस्यहरुले शनिवारको बैठकमा सामान्य छलफल भएको बताएका थिए।

शनिवार नै नेकपाका शीर्ष नेताहरुले कार्यदलको वैधानिकतामाथि प्रश्न उठाएका थिए। दिउँसो अध्यक्ष प्रचण्डसँग भेट गरी वरिष्ठ नेताद्वय खनाल, नेपाल र प्रवक्ता श्रेष्ठले कार्यदल सचिवालय बैठकबाट अनुमोदन हुनुपर्ने माग राखेका थिए।

तीनैजना नेताले दुई अध्यक्षको सहमतिले मात्रै समस्या समाधान नहुने भन्दै कार्यदलको कार्यादेशका लागि सचिवालय  बैठकको बोलाउन माग गरेका थिए।

चौथो दिन :  कार्यदलको दोस्रो बैठक

आइतवार कार्यदलको दोस्रो बैठक बस्यो। बैठकबाट औपचारिक रुपमा विवाद समाधानका लागि काम सुरु भएको एक नेताले बताए।  

तर, बैठकमा छलफल भएका विषयहरुका बारेमा भने केही खुलाइएको छैन। कार्यदललाई समाधानका लागि खाका तयार गर्न ‘डेडलाइन’ समेत दिइएको छैन। उनीहरुलाई केही दिनमै समाधानका लागि गृहकार्य गरेर मस्यौदा पेश गर्न भनिएको छ।

आइतवार प्रधानमन्त्री ओलीले सोमवार बिहानका लागि सचिवालय बैठक पनि आब्हान गरे। यसलाई धेरैले विवाद समाधानको यात्राका रुपमा हेरे।

पाचौं दिन : सचिवालय बैठक, कार्यदल अनुमोदन  

प्रधानमन्त्री ओलीले विवाद सकिने भन्दै तोकेको अन्तिम दिन सोमवार सचिवालय बैठक बस्यो।

बिहान बालुवाटारमा बसेको बैठकले समस्या सुलझाउनका लागि बनाइएको कार्यदल अनुमोदन गर्‍यो। जुन माग झलनाथ, माधवकुमार र नारायणकाजीले प्रचण्ड सामु राखेका थिए।  

‘आजको सचिवालयको बैठकले केही समय यता पार्टीमा देखा परेका समस्या त्यसको समाधान र संकटको निकासका निम्ति भइरहेको छलफललाई व्यवस्थित ढंगले अघि बढाएर टुंगोमा पुर्‍याउन अध्यक्ष कमरेडहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यदल गठन गरेर सुझाव पेश गर्न जुन पहल गर्नुभयो त्यसलाई बैठकले सकारात्मक रुपमा लिँदै धन्यवाद दिएको छ’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,  ‘आजको बैठकले उक्त कार्यदललाई अनुमोदन गरेको छ। कार्यदलले राष्ट्रका सामु देखिएका कार्यभारलाई पूरा गर्न पार्टी र सरकार सक्षम हुनेगरी गर्नुपर्ने कामहरूका बारेमा सुझाव दिन सफल हुनेछ भन्ने आशाका साथ कार्यदललाई बैठकले शुभकामना दिएको छ।’

कार्यदलले मस्यौदा पेस गरेसँगै सचिवलायमा छलफल गर्ने र  स्थायी समितिमा अनुमोदनका लागि लैजाने दुई अध्यक्षबीच समझदारी रहेको छ।

पार्टी सञ्चालनको सम्पूर्ण कार्यकारी अधिकार प्रचण्डमा कायम रहनेगरि सहमति हुन सक्ने नेताहरु बताउँछन्। जुन कुरामा यसअघि नै सहमति भएको थियो। तर, ओली र प्रचण्डबीच शक्ति बाँडफाँड हुन सकेको थिएन। हाल हुने सहमतिमा अध्यक्षका रुपमा ओली पनि कायमै रहने बताइएको छ। प्रधानमन्त्रीका रुपमा ओलीले पूर्ण कार्यकाल नै सञ्चालन गर्नेछन्।

दुई अध्यक्षबीच विवाद समाधारको सुत्रका रुपमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा समेत छलफल भएको छ।

दुई वर्ष कार्यकाल पूरा गरेका जोसुकै मन्त्रीलाई पनि हटाएर नयाँ मन्त्री नियुक्त गर्ने विषयमा दुवै अध्यक्ष सहमत भएको बताइएको छ।

विवाद समाधानका लागि गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठनको खाका र प्रस्ताव पनि तयार पार्ने बताइएको छ। प्रदेशका केही मुख्यमन्त्री हेरफेरको पनि सम्भावना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell