PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कोशी कोभिड-१९ उपचार केन्द्र : लक्षण देखिएका संक्रमितलाई प्राथमिकता, भेन्टिलेटर प्रयोग गर्न पूर्वाधार छैन



फूलमाया पुरी

कोशी कोभिड-१९ उपचार केन्द्र : लक्षण देखिएका संक्रमितलाई प्राथमिकता, भेन्टिलेटर प्रयोग गर्न पूर्वाधार छैन

विराटनगर : कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा कोरोनाका लक्षण देखिएका संक्रमितहरुको उपचारलाई प्राथमिकता दिइने भएको छ।

पछिल्लो समय लक्षणसहितका संक्रमित बढेसँगै कोभिड अस्पतालमा लक्षण भएकाहरुको उपचारमा बढी प्राथमिकता दिइने अस्पतालका संयोजक डा दीपक सिग्देलले बताए।

‘लक्षण नभएकालाई राख्दै नराख्ने भन्ने होईन, लक्षण भएकालाई बढी प्राथमिकता दिईने छ,’ डा सिग्देलले बताए।

पछिल्लो समय प्रदेश १ मा संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ। लक्षणविहिन र लक्षण देखिएका संक्रमितहरु कोभिड उपचार केन्द्रमा उपचाररत् छन्।

‘यहाँ लक्षण देखिएका भन्दा पनि लक्षणविहिन संक्रमितको संख्या बढी छ, भोलीका दिनमा लक्षणसहितका बिरामीले उपचार नपाउने अवस्था सिर्जना नहोला भन्न सकिन्न,’ उपचार केन्द्रको संयोजन गरिरहेका डा सिग्देलले चिन्ता व्यक्त गरे।

सोमवार साँझसम्म कोभिड उपचार केन्द्रमा २१ महिलासहित ४५ जना संक्रमितहरु उपचाररत् रहेको जनस्वास्थ्य अधिकृत आनन्द लामिछानेले जानकारी दिए। थप १४ जना संक्रमित केन्द्रमा ल्याउने तयारी भइरहेको छ।

लामिछानेका अनुसार संक्रमण देखिएकाहरुमध्ये एक जनाको मात्रै आइसीयूमा उपचार भइरहेको छ।

भेन्टिलेटरको चिन्ता 

सिग्देलका अनुसार कोभिड उपचार केन्द्रमा आइसीयू र भेन्टिलेटर सहितको सुविधा विस्तार गरिएको छ। हाल उपचार केन्द्रमा ५ वटा भेन्टिलेटर र १० वटा आइसीयू बेड तयारी अवस्थामा राखिएको छ।

तर, उपचार केन्द्रमा राखिएका भेन्टिलेटर प्रयोगमा ल्याउन सक्ने अवस्था तत्काल नभएको उनको भनाइ छ। कारण त्यसका लागि आवश्यक पूर्वाधार र जनशक्तिको तयारी अवस्था नहुनु। यस्तै केन्द्रमा खटिने स्वास्थ्यकर्मीहरुलाई सुरक्षा प्रत्याभूति प्रदान गर्नुपर्ने सिग्देलले बताए। 

उपचार केन्द्रमा जम्मा ६ वटा भेन्टिलेटर राखिएको छ। तर, पाँचवटा मात्र प्रयोगमा ल्याउन सकिने अवस्थाका भएको जनस्वास्थ्य अधिकृत लामिछानेले बताए। एउटा भेन्टिलेटर मर्मत गरेरमात्रै प्रयोगमा ल्याउन मिल्ने प्रकारको छ। बांकी भेन्टिलेटर प्रयोगमा आइसकेका छैन।

कोभिड-१९ उपचार केन्द्रमा आइसीयू र भेन्टिलेटर सुविधा थपिएसँगै बेड संख्या १ सय पुगेको छ। हाल उपचार केन्द्रमा ८ वटा आइसीयू बेडसहित ७० वेड प्रयोगमा आइसकेका छन्।

यता आइसीयू र भेन्टिलेटरसँगै आवश्यक जनशक्तिलाई तालिमको प्रवन्ध भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। २० जना नर्स र १० जना चिकित्सकलाई प्रदेश स्वास्थ्य तालिम केन्द्रले तालिमको व्यवस्था गरेको प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए।

कोभिड उपचार केन्द्रमा सुविधा विस्तारसँगै जनशक्तिको अभाव नहोस् भन्नका लागि तालिमको व्यवस्था गरेर जनशक्तिलाई तयारी अवस्थामा राखिएको मन्त्री घिमिरेको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell