PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रदेश १ सरकारको तयारी : पीसीआर परीक्षणलाई प्राथमिकताको आधारमा व्यवस्थित गरिने



फूलमाया पुरी

प्रदेश १ सरकारको तयारी : पीसीआर परीक्षणलाई प्राथमिकताको आधारमा व्यवस्थित गरिने

विराटनगर : प्रदेश १ मा कोरोना परीक्षणलाई व्यवस्थित बनाइने भएको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेको अध्यक्षतामा आइतवार बसेको बैठकले पीसीआर परीक्षणलाई व्यवस्थित र वैज्ञानिक बनाउने निर्णय गरेको हो।

कोरोना संक्रमणको दर बढेसँगै सीमित क्षमतालाई ध्यान दिँदै उक्त निर्णय गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयले कोभिड-१९ संक्रमण परीक्षणका प्राथमिकीकरण निर्धारण गरेको छ। त्यस्तै, मन्त्रालयले सघन उपचार कक्षमा उपचाररत र सिकिस्त बिरामीहरु, कोभिड-१९ जस्तै लक्षण भई शंकास्पद कारणले मृत्यु भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखेको छ।

त्यसैगरी, चिकित्सकको सल्लाह बमोजिम लक्षण देखिएका व्यक्तिहरु र कुनै किसिमको शल्यक्रिया गर्नुपर्ने बिरामीहरुलाई पनि प्राथामिकतामा राखिएको प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख सागर प्रसाईले बताए।

महाशाखा प्रमुख प्रसाईका अनुसार संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका परिवारका सदस्यहरु, न्यूनतम ५ दिन होम आइसोलेसन बसेका वा संक्रमितसँग १५ मिनेटभन्दा बढी एक मीटर दुरी कायम नगरी प्रत्यक्ष सम्पर्कमा रहेका न्यूनतम ५ दिन होम आइसोलेसन बसेकाहरुलाई पीसीआर परीक्षणको प्राथमिकतामा राखिएको छ।

त्यसैगरी, विदेशबाट आएर न्यूनतम पाँच दिन क्वारेन्टाइनमा बसेका व्यक्तिहरु र कोभिड-१९ संक्रमण व्यवस्थापनका लागि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सूरक्षाकर्मी तथा अन्य कर्मचारीहरु पनि पीसीआर परीक्षणको प्राथमिकतामा पर्ने महाशाखा प्रमुख प्रसाईले जानकारी दिए।

प्रदेश १ मा रहेका ४ वटा प्रयोगशालाहरुमा पीसीआर परीक्षण हुँदै आएको छ। जसमा कोशी अस्पताल, प्रदेश प्रयोगशाला, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पताल रहेका छन्।

आजसम्म ६७ हजार १ सय ७८ पीसीआर परीक्षण गरिएको छ भने परीक्षण गरिएकामध्ये २ हजार ९२ मा कोरोना संक्रमण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell