लकडाउनको पहिलो तीन महिनामा दक्षिण अफ्रिकामा अपराधका घटनामा ४० प्रतिशतले गिरावट आएको छ। सुरक्षा निकायले जारी गरेको तथ्याङ्कका अनुसार यौन दुर्व्यवहारदेखि आगजनीसम्मका सबैखाले अपराधमा कमी आएको हो।
कोरोना भाइरसको संक्रमणका कारण अल्कोहलमाथि प्रतिवन्ध लगाइएको थियो जसले अपराधका घटनालाई कम गराउन मद्दत पुगेको बताइएको छ। मदिरामाथिको प्रतिवन्धका कारण लिकर स्टोरहरुमा तोडफोड भने धेरै भएको छ।
दक्षिण अफ्रिका विश्वका धेरै अपराध हुने मुलुकको उच्च सूचीमा रहेको देश हो। अफ्रिका महादेशमा रहेका संक्रमितमध्ये आधा जसो दक्षिण अफ्रिकामा नै रहेका छन्। त्यहाँ अहिलेसम्म ५ लाख भन्दा धेरै संक्रमित भइसकेका छन् भने ११ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन्। पर्याप्त परीक्षण नभएकाले यो संख्या कम देखिएको बताइएको छ।
पुलिस मिनिस्टर भेकी सेलीले अपराधको यस्तो तस्बिर अफ्रिकामा यसअघि कहिल्यै नदेखिएको बताएका छन्। अफ्रिकाले क्राइम होलिडे मनाइरहेको उनको टिप्पणी छ।
'अघिल्लो वर्षको यही अवधिसँग तुलना गर्दा अपराधका गतिविधिमा निक्कै कमी आएको छ,' उनले भने, '४०.४ प्रतिशत बलात्कारका घटना कम भएको छ यो तीन महिनामा।' सम्पत्ति क्षति पुर्याउनेखालका अपराध २९ प्रतिशतले कम भएको छ।
रक्सी र चुरोटमाथि लकडाउनका बेलामा प्रतिबन्ध लगाइएपछि त्यसले ठूलो हंगामा पैदा गरेको थियो। मार्च २७ देखि जुन १ सम्म रक्सीमाथि प्रतिवन्ध लागेको थियो।
