काठमाडौं : समय अनुकूल भएको भए मानन्धर समुदायका मानिसहरु भदौ ४ गते ‘वन यात्रा’ को तयारीमा हुन्थे। बिहानै हनुमानढोकामा जम्मा भएर उनीहरु फत्ता र टीका लगाएर हनुमानढोकाको नासल चोकबाट भक्तपरको नालामा रहेको यसिंगुँ तिर लाग्थे, गुरुजुको पल्टनसहित यँया: (इन्द्रजात्रा) का लागि य:सिं लिन।
तर, यसपटक मानन्धर समुदायका अगुवाहरु यसिंगु प्रस्थान गर्ने छैनन्। न त इन्द्रजात्रामा य:सिं नै ठडिनेछ। कारण कोरोना भाइरसको संक्रमण।
यसरी ल्याइन्थ्यो य:सिं।
कोभिड १९ को संक्रमण बढ्दै गएको र उप्त्यकामा पनि संक्रमण दर बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै इन्द्रजात्रा व्यवस्थापन समितिले यो वर्ष ८ दिन लामो इन्द्रजात्रामा जिवित देवी कुमारी, जिवित देव भैरव र गणेशको रथ यात्रा नहुने जनाएको हो। यद्यपि, दैनिक नित्य पूजा भने गरिनेछ।
साथै, इन्द्रजात्रामा निकालिने मजिपा: लाखे, पुलुकिसि सव:भक्कु, देवी नाच पनि हुनेछैन। जात्रामा भिड हुने कुरालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।
यस वर्ष भदौ १४ गते आइतवार बिहान ७:०७ बजे इन्द्रध्वजोत्थान गर्ने साइत तय भएको थियो। भदौ १६ गते रथयात्रा प्रारम्भ हुने थियो।
पहिलोपटक रोकियो इन्द्रजात्रा
त्रिभुवन विश्वविद्यालयका इतिहासविद् एवम् प्राध्यापक डाक्टर त्रिरत्न मानन्धरका अनुसार नेपाल मण्डलमा मल्लकालदेखि नै य:सिं ठड्याउने परम्परा रहेको थियो। विश्वभर शुभकार्य अगाडि लामो काठ ठड्याउने परम्परा रहेको भन्दै सिन्धुघाटी सभ्यतामा समेत काठ ठड्याउने गरिएको बताउँछन् उनी। काठमाडौंमा यँया:मा पनि य:सिं ठड्याउन मल्लकालमा नै शुरु भएको थियो।
गुणकामदेवको समयदेखि चल्दै आएको यँया: पर्व पहिलोपटक कोरोना महामारीका कारण प्रभावित बनेको स्थानीय बताउँछन्। कुमारीको रथयात्रा भने जयप्रकाश मल्लको पालादेखि निरन्तर चल्दै आएको थियो।
हालसम्म जस्तोसुकै परिस्थितिबीच पनि हनुमानढोकामा य:सिं ठड्याउने र देवदेवीको रथयात्राका साथे नाचहरु हुँदै आएको थियो।
पृथ्वीनारायण शाहले करिब साढे दुई सय वर्षअघि इन्द्रजात्राकै दिन काठमाडौंमा आक्रमण गरेका थिए। जात्रामा रमाइरहेको काठमाडौंलाई नियन्त्रण गर्न सफल भएपछि पनि कुमारीको रथ यात्रा रोकिएको थिएन।
तर, यसपटक कोरोना महामारीका कारण पहिलो पटक इन्द्रजात्रा नित्य पूजामा मात्रै सीमित हुन लागेको हो।
बाबुराम प्रधानमन्त्री हुँदा अवरुद्ध रथयात्रा
२०६५ सालमा पनि हरेक वर्ष झै काठमाडौंवासी इन्द्रजात्रा रमाइरहेका थिए। त्यसै वर्ष असोज ३ गते इन्द्रजात्राको अन्तिम दिन जिवित देवी कुमारी, जिवित देव गणेश र भैरवको रथलाई 'नानिचा: या:' (बीचको नगर परिक्रमा) गराउने दिन थियो। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादव पहिलोपटक कुमारीको हातबाट टीका लगाउन आउने कार्यक्रम थियो।
तर, त्यस दिन मल्ल कालदेखि निरन्तर रुपमा चलिआएको रथ यात्रा पूरा हुन सकेन। पहिलो पटक कुमारी सहित गणेश र भैरवको रथ यात्रामा 'ब्रेक' लाग्यो।
कारण थियो - माओवादी नेतृत्वको सरकारबाट आएको एउटा पत्र जसमा 'आर्थिक मितव्ययिता' अपनाउने भन्दै डाक्टर बाबुराम भट्टराईले नेतृत्व गरेको अर्थ मन्त्रालयले इन्द्रजात्रामा संचालन हुने तीनवटा गुठी नाच (लाखे आजु, पुलुकिसी र सव:भक्कु) लाई दिँदै आएको खर्च कटौती गर्ने निर्णय गरेको थियो। सो पत्रले जात्रामय वसन्तपुर क्षेत्रको माहौल एकाएक परिवर्तन भएको थियो।
सरकारले दिँदै आएको थोरै रकम पनि कटौती गरेपछि त्यसलाई स्वीकार गर्ने पक्षमा थिएनन् गुठीयार। सरकारप्रति गुठीमा संलग्न गुठीयारमात्र नभइ स्थानीय र सरोकारवालाहरु सबै मिलेर वसन्तपुरमै सांस्कृतिक आन्दोलन गरे। बाजाले गुञ्जायमान हुनुपर्ने वसन्तपुरमा सन्नटा छायो। लाखे, पुलुकिसी,सव:भक्कु वसन्तपुर पुगे तर नाचेनन्, धिमे, भुस्या, घन्ट बजेनन्। उनीहरुले गद्दी बैठक अगाडि उभिएर सरकारविरुद्ध मौन प्रदर्शन गरे। त्यतिबेला सम्ममा सरकारको निर्णय नेवार समुदायको बाहुल्य रहेको क्षेत्रहरुमा आगो झै फैलिसकेको थियो।
कुमारीसहित गणेश र भैरवको रथ यात्रा नहुने चर्चाबीच अन्तत: बेलुकी करिब ५ बजे रथ यात्रा सुरु भयो।
तर, कुमारीको रथ यात्रा प्याफल - यट्खा भन्दा अघि बढ्नै सकेन। सरकारसँग झुक्यो भने सबै संस्कृति मास्छ भन्नेहरुको वर्चश्व थियो। रथ यात्रा हुने स्थानहरुमा ठाउँठाउँमा अवरोध थियो। मध्यरात भइसकेको थियो। कुमारीलाई बीच बाटोबाटै फर्काउनु पर्यो।
बाबुराम भट्टराईको एउटा निर्णयले इतिहासमा पहिलो पटक रथयात्रा सम्पन्न हुन सकेको थिएन।