PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

गण्डकी प्रदेशले संक्रमित सबैलाई पीसीआर टेस्टपछि मात्र डिस्चार्ज गर्ने स्थानीय स्वास्थ्यकर्मीलाई पनि नमुना संकलन तालिम दिइने



पहिलोपोस्ट

गण्डकी प्रदेशले संक्रमित सबैलाई पीसीआर टेस्टपछि मात्र डिस्चार्ज गर्ने स्थानीय स्वास्थ्यकर्मीलाई पनि नमुना संकलन तालिम दिइने

काठमाडौं : गण्डकी प्रदेशले कोभिड-१९ को संक्रमण पुष्टि भएका संक्रमितलाई पीसीआर परीक्षण गरी कोभिड-१९ नेगेटिभ पहिचान भएपछि मात्र डिस्चार्ज गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को संक्रमण भइ आइसोलेसनमा बसेका संक्रमितलाई १४ दिन पछि लक्षण नदेखिए परीक्षण नगरी डिस्चार्ज गर्न सक्ने गाइडलाइन बनाए पनि गण्डकी प्रदेशले भने पीसीआर परीक्षणलाई अनिवार्य गरेको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा गण्डकी प्रदेश सरकारको कोभिड-१९ क्राइसीस म्यानेजमेन्ट सेन्टरको बैठकले यस्तो निर्णय गरेको हो। अस्पतालमा भर्ना भई उपचार सकेर डिस्चार्ज गरिने सबै बिरामीको अनिवार्य पीसीआर परिक्षण गरी नेगेटिभ आएपछि मात्र घर पठाउने निर्णय गरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यस्तै बैठकले नागरिकहरुलाई आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कनका लागि प्रेरित गर्ने, आवश्यक परेमा सुरक्षा सम्बन्धि मापदण्डहरुको पालना गर्नुपर्ने, र सुरक्षासम्बन्धि मापदण्डहरुको पालना भए नभएको अनुगमन सबै सुरक्षा निकायले गर्ने निर्णय गरेको छ।

त्यस्तै, नजिकिँदै गरेको बुबाको मुख हेर्ने औंशी, ऋषि पंचमी, हरितालिका तीज लगायतका चाडपर्व एवम् अन्य सभा, सेमिनार, वार्सिकोत्सव, अधिवेशन आदि जस्ता कार्यक्रम सार्वजनिक स्थलहरुमा गर्न प्रतिबन्ध लगाउने, सो को अनुगमन स्थानीय प्रशासन र सुरक्षा निकायले गर्ने निर्णय भएको छ।

त्यस्तै, प्रदेशभित्र रहेका सबै आइसोलेसन कक्षलाई थप व्यवस्थित गर्ने निर्णयसमेत गरेको छ। त्यस्तै  गण्डकी प्रदेशको प्रवेश बिन्दुमा राखिएका चेक पोइन्टहरुको जाँचलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

त्यस्तै, परीक्षणको दायर बढाउने निर्णय गर्दै पोखरा महानगरपालिका सबै वडाका स्वास्थ्यकर्मीलाई नमुना संकलनको तालिम दिएर नमुना संकलनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell