PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

धरानको बीपी प्रतिष्ठानमा प्लाज्मा थेरापीबाट उपचार सुरु, कोरोनामुक्त २५ वर्षीय युवकले दिए रगत



अनन्तराज न्यौपाने

धरानको बीपी प्रतिष्ठानमा प्लाज्मा थेरापीबाट उपचार सुरु, कोरोनामुक्त २५ वर्षीय युवकले दिए रगत

विराटनगर : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड–१९ का बिरामीलाई प्लाज्मा थेरापीबाट उपचार सुरु गरेको छ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर सञ्जीव शर्माका अनुसार धरानका ६८ वर्षीय एक सङ्क्रमितलाई सोमवार रातिदेखि प्लाज्मा थेरापी सुरु गरिएको हो। उनी साउन ३० गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना भएका थिए। उनको उपचार सघन उपचार कक्ष (आइसीयू) मा भइरहेको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १ निबासी २५ वर्षका एक युवकले सङ्क्रमितको प्लाज्मा थेरापीका लागि रगत दिएका हुन्। ती युवकलाई जेठको तेस्रो हप्तामा कोरोना सङ्क्रमण भएको थियो। उनी मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड अस्पतालबाट उपचार पाएर निको भएका हुन्।

यसअघि शनिवार नेपाल रेडक्रस सोसाइटी सुनसरीले कोभिड–१९ को सङ्क्रमण भई निको भएका व्यक्तिको ‘बी पोजिटिभ’ समूहको रगत आवश्यक परेको भन्दै सार्वजनिक आह्वान गरेको थियो। रेडक्रसको सूचना पढेपछि कोरोनामुक्त युवक रक्तदान गर्न सोमवार दिउँसो धरान गएका थिए।

प्रवक्ता शर्माले रगतमा भएका कोष निकालेर बाँकी रहेको तरल पदार्थलाई प्लाज्मा भन्ने गरिएको उल्लेख गरे। उनले कोभिड–१९ लाई जितेका व्यक्तिको रगतबाट प्लाज्मा निकालेर अर्का सङ्क्रमितलाई दिएपछि कोरोना भाइरसलाई मार्न सक्ने एन्टीबडी तयार हुने बताए।

एन्टीबडीले भाइरसलाई मार्ने र भाइरस मरेपछि बिरामी निको हुने उनको भनाइ थियो।

यसअघि विराट मेडिकल कलेजका सञ्चालक डाक्टर ज्ञानेन्द्रमानसिंह कार्कीलाई काठमाडौंको शिक्षण अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो। नेपालमा कोभिड–१९ को उपचारमा यो प्लाज्मा थेरापी अपनाइएको पहिलो केस यही थियो। डाक्टर कार्की निको भइसकेका छन्।

बीपी प्रतिष्ठानले कोरोनामुक्त सबैलाई रक्तदान गर्न आह्वान गरेको प्रवक्ता डाक्टर शर्माले बताए।

सरकारी निर्णयअनुसार देशभरिका १२ अस्पतालले प्लाज्मा थेरापीबाट कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न पाउँछन्। जसमध्ये प्रदेश नम्बर १ का कोशी अस्पताल र बीपी प्रतिष्ठानलाई गरी २ अस्पताललाई मात्र अनुमति छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell