PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मोरङका स्वास्थ्य प्रमुखसहित तीन कर्मचारीमा कोरोना, 'फ्रन्टलाइनमा काम गर्ने मान्छे हो, संक्रमित हुनु नौलो हैन'



फूलमाया पुरी

मोरङका स्वास्थ्य प्रमुखसहित तीन कर्मचारीमा कोरोना, 'फ्रन्टलाइनमा काम गर्ने मान्छे हो, संक्रमित हुनु नौलो हैन'

विराटनगर : जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत कोरोना संक्रमित भएका छन्।

बस्नेत प्रदेश १ को प्रदेशस्तरीय कोभिड उपचार केन्द्रका व्यवस्थपनमा प्रमुखको भूमिकामा थिए।

आफूसहित कार्यालयका तीन जना कर्मचारीमा संक्रमण देखिएको स्वास्थ्य प्रमुख बस्नेतले बताए।

‘काम गर्ने मान्छे संक्रमित हुनु नौलो कुरा भएन, धेरै क्षेत्रमा फ्रन्टलाइनमा काम गरियो,’ उनले भने, ‘परीक्षण गर्दा मलगायत हामी तीन जनामा संक्रमण देखिएको छ, अहिले होम आइसोलेसनमा बसेको छु।’

कहीँ पुग्न बाँकी रहिएन व्यवस्थापनका क्रममा त्यसैले कहाँबाट संक्रमित भइयो भन्ने यकिन गर्न नसिकएको उनको भनाइ छ।

स्वास्थ्य प्रमुख बस्नेतका अनुसार स्वास्थ्य कार्यालयमा एक साताअघि एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनीहरु होम क्वारेन्टाइनमा बसेका थिए।

कर्मचारीमा संक्रमण देखिएपछि कार्यालयका सबै ४३ जनाको स्वाब संकलन गरिएको थियो।

‘प्रदेश प्रयोगशालाबाट हिजो आएको रिपोर्ट हो, अरु सबै कर्मचारीको रिपोर्ट नेगेटिभ छ,’ उनले भने।     

त्यसो त बस्नेत आफैले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना संक्रमण देखिएको सबैमा जानकारी गराउन लागेको पनि बताए।

एक साता अघि देखिएका संक्रमित कर्मचारी हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्। बस्नेत र अर्का एक संक्रमित कर्मचारी होम आइसोलेसनमा बसिरहेका छन्।

संक्रमित स्वास्थ्य प्रमुख बस्नेतमा कोरोना भाइरस (कोभिड-१९) को केही लक्षण देखिएको उनले बताए। अन्य दुई कर्मचारीको भने स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाइ छ।

‘मलाई ज्वरो र रुघा देखिएको छ, तर मेरा अरु संक्रमित भएका कर्मचारीमा भने कुनै लक्षण देखिएको छैन,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell